बिहीबार, असोज ७, २०७८

घोराही उपमहानगरका २ वडासचिव किर्ते गरेको अभियोगमा पक्राउ

ज्योतिन्यूज २०७७ असार २३ गते ७:३४

घोराही । दाङको घोराही उपमहानगरपालिकाका २ जना वडासचिव पक्राउ परेका छन् । किर्ते गरेको अभियोगमा घोराहीका वडा नं. १ का वडासचिव धनबहादुर केसी र वडा नं। १३ का वडासचिव रनविन बुढालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए

दुवै वडासचिवले २०५९ सालको जन्म मिति भएकी एक किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ । सो प्रकरणमा लामो समय शिक्षण पेशामा सलग्न रहदै आएका हुकुम जिसी पनि पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने किर्ते काममा ती २ वडा सचिवले सघाएको आरोप लगाएका छन् । उनको आरोपपछि वडासचिवहरुलाई पक्राउ गरिएको हो । हाल पूर्पक्षका लागि थुनामा रहेका जबरजस्ती करणी मुद्दाका अभियुक्तका आफन्तले केटीले उमेर किर्ते गरि घटाएको जानकारीका आधारमा दाङ देउखुरी जिल्ला अदालतमा उजुरी दिएका थिए ।

त्यसपछि अदालतले घोराही उपमहानगरपालिकालाई उक्त विषयमा सत्य तथ्य जानकारी दिन पत्राचार गर्न भनेको थियो । अदालतको पत्रका आधारमा घोराही उपमहानगरपालिकाले ती किशोरीको जन्म २०५९ सालमा जन्मेको प्रमाणित गरेपछि सचिवद्वय विरुद्ध किर्ते अभियोगमा मुद्दा परेको थियो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया