आइतबार, साउन १७, २०७८

भोक सत्य हो

ज्योतिन्यूज २०७७ असार २४ गते ५:०२
  • धनञ्जय दवाडी

कविता

प्रिय कमरेड !!

कति निदाउनु हुन्छ- घुम्ने मेचमा ?

थाहा छ कमरेड

भोक शक्तिशाली हुन्छ।

क्रान्तिको मोर्चा

युद्धका ट्रेञ्चमा

संगठनका सेलमा कहिल्यै नदेखिएकाहरू

कहिल्यै नभेटिएकाहरू

आज

तपाईं कै सामुन्ने गाइरहेछन् – क्रान्तिगीत

पढाइरहेछन्- संगठनको सिद्धान्त!!

आज नेता भन्दा पनि,

मन्त्री भन्दा पनि

ऊ शक्तिशाली कसरी हुन सक्छ कमरेड??

जग्गाको व्यवसाय वा ठेक्कापट्टा

व्यापार,उद्योग वा हाइड्रो

बैंक र सहकारी – तिनैको

अनि

कमरेड

पार्टी पनि तिनैले कसरी चलाउँछन् ?

जसको सम्बन्ध न गरिबसँग छ

न किसानसँग साइनो छ कुनै

तर पनि

आकाशे वेलुन सुन्तलाको बोटमाथि झैं

हामीमथि लहरिरहेछ -ऊ!

किन त्यही मान्छे- तपाईंको प्रिय छ ?

संविधान,कानुन र सरकारले छुन नसक्ने

गरिबलाई – कानुन

किसानलाई -बजार

जनतालाई – न्याय पाउन रोक्ने

तपाईंको अङ्गरक्षकले पनि सलामी ठोक्ने

तपाईंको कार्यकर्ता भन्दा पनि -भरपर्दो

मन्त्री र सरकारभन्दा शक्तिशाली

आखिर

को हो-कमरेड त्यो?

क्रान्तिको मोर्चामा

संगठनको सेलमा नदेखिएको-ऊ

कमरेडसँग- जोडिएर

शक्तिशाली भएको – ऐजेरु क्रान्तिकारी

को हो-कमरेड त्यो ?

हामी त सँगै थियौं नि- क्रान्तिको मोर्चामा

सडक आन्दोलनमा

छ न त छ नि!!

संविधान छ-रगतले लेखेको

तर

संविधानले देखेको समाजवादले

कहिले हटाउँछ?

थाप्लोबाट नाम्लो – कमरेड

छन त छ-संविधानमा

लोकतन्त्र

गणतन्त्र

समाजवाद- सबथोक छ।

तर

सूर्य बहादुर तामाङहरू भोकले

नाम्लोसँगै मरेको खबर पनि छ – अखबारमा

भोक सबभन्दा शक्तिशाली हुन्छ- कमरेड

भोक- सत्य हो !

आँखाले देखेभन्दा

गहिरो छ- सत्य !

तर पनि

कमरेड

तपाईं भन्दा पनि शक्तिशाली – त्यो को हो कमरेड!!??

 

 

प्रतिक्रिया