आइतबार, चैत २९, २०७७

मरुभूमिमा खुसी भेट्दा

ज्योतिन्यूज २०७७ असार २४ गते ५:०८

समृद्धि घिमिरे

भारत र सिंगापुरपछि म तेस्रो देश टेक्दै थिएँ-दुबई।

मरुभूमिमा रहेर पनि आफूलाई युरोपको दाँजोमा विकास गरेको युएईको भव्य सहर हो दुबई। यात्रा गर्नुअघि घुम्ने ठाउँ कहाँ-कहाँ छन् यसो गुगल गरें। टन्नै रहेछ्न्। छ दिनको पारिवारिक यात्रालाई अविस्मरणीय बनाउनु थियो।घुम्ने ठाउँ सेलेक्ट गरें।

कुरा हो चार महिनाअघिको।

काठमाडौंबाट उडेको प्लेन भारतका विभिन्न भाग हुँदै इन्डियन ओसियनमाथि उड्दै थियो। प्लेनमा बस्दानै ती ठाउँ कतिबेला पुगिएला जस्तो भइरहेको थियो। थप उत्साहित र रोमान्चित थिएँ। यो भन्दाअघि अन्तर्राष्ट्रिय भ्रमण गरेता पनि यसपटकको भ्रमणमा भने छुट्टै अनुभव संगाल्दै थिएँ। त्यो हो – मरुभूमिको आन्नद।

दिउँसो २ बजे हामी दुबई अन्तर्राष्ट्रिय विमानस्थल ओर्लियौं।

पहिलो दिन खासै घुम्ने योजना थिएन। देरा मलमा सपिङ गरेर समय बित्यो।

दोस्रो दिन सिटी टूरमा निस्कियौं। सफा र फराकिला रोड, गगन चुम्बी महल। विश्वकै व्यापारिक हबको रूपमा आफूलाई स्थापित गरेको दुबई आफैंमा विकासको उत्कृष्ट नमूना हो।

युएईमा सात राज्य छ्न्। सन् १९७१ मा ब्रिटिस साम्राज्यको अन्त्यपछि तत्कालीन ७ अलग अलग देशहरू एक भई युएई (युनाइटेड अरब इमिरेट्स) बन्न गयो। हालसम्म पनि सातै फरक राज्यमा फरक फरक राजा छ्न्। केन्द्रीय राजा आबुधाबीबाट राजकाज चलाउँछ्न्। मोहम्मद बिन रसिद अल मक्तुम युएईका प्रधानमन्त्री हुन् भने दुबईका राजा।

दुबईलाई अहिलेको ठाउँमा ल्याइपुर्याउने मुख्य श्रेय उनैलाई जान्छ। विश्वकै अनौठा र चामत्कारिक काम गरेर आफ्नो ध्यान खिच्न सफल छ्न् उनी।

घुम्दै जाँदा हामी दुबई फ्रेम पुग्यौं। फोटो फ्रेमको आकारमा बनाइएको यस संरचना आकर्षक लाग्यो जहाँ चढ्न लिफ्टको सुविधा छ। पारदर्शी सिसाको लिफ्टबाट दुबईलाई हेर्दै ७५ सेकेन्डमा १ सय ५० मिटरको उचाइमा पुगिन्छ। दुई पिलरहरू जोड्ने ब्रिजमा हिँड्दै यस्तो उचाइबाट सानदार दुबईको दृश्यहरू हेर्दा मनै लोभियो। जब उचाइमा पुगें मन त्यसैत्यसै कल्पिन पुग्यो। व्यस्त दुबईमा मस्त म। सबैलाई भ्याइनभ्याइ थियो। बेतोडले दौडिरहेको थियो दुबई तर म भने एकटक हेरिरहेको थिएँ,यी दृश्य। सोचें हाम्रो देशले यस्तो विकास कहिले गर्ला?

सिटी टुर सकेर हामी डेजर्ट सफारीतिर लाग्यौं। विभिन्न भिडिओ अनि सिनेमाको पर्दामा मरुभूमि त देखेकै हो तर अनुभव गर्न भने पाएकी थिइनँ। त्यहाँ त बालुवाको बेग्लै संसार थियो। आफ्नो आँखाले भ्याएसम्म जताततै हेरें मात्रै बालुवा नै बालुवा। पहिलो पटक मरुभूमिमा पाइला टेकेको। हुन त खाल्डाखुल्डी र पिच बाटोमा हिँड्न बानी परेको म बालुवामा हिँड्दा छुट्टै अनुभव हुने।

केही दबिएको महशुस अनि पाइला अघि बढाउन पनि कठिन तर मनमा छुट्टै आनन्द आइरहेको थियो-मरुभूमिमा बस्दाको पल। हातमा लिएर बालुवा बिस्तारै उडाएँ। बालुवासँगै उड्यो मन पनि।

बालुवाको भिराला कान्लामा ल्याण्डक्रुजर बेतोडले दौडाउँदा मनमा एक किसिमको डर अनि रोमान्चकता दुवै मिश्रित हुन्थ्यो।

पाकिस्तानी मूलका ड्राइभर निकै मिलनसार थिए। धेरैले डेजर्ट सफारीको बेला रिंगाटा लागेर बान्ता गर्ने भएकोले उनले हामीलाई सफारीपछि मात्र खान सुझाए।

सफारी सकेर हामी क्याम्पमा पुग्यौं। म पहिलोपटक त्यसरी खुला ठाउँमा बसेर खाँदै थिएँ।

एक त भुइँको बसाइँ अर्को छानोबिनाको खुला आकाश। खासमा हाम्रो धरातल त यही हो नि।

यति कुरा पनि हामीलाई समृद्ध युएईले सिकाइरहेको छ।

मैले पहिलो पल्ट क्वार्ड (एटिभी) बाइक चलाउने मौका पाएँ। बाइक, त्यो माथि पनि तीन पाङ्ग्रे। एकैछिनमा कुदाएर पर पुग्छु भन्ने लाग्यो। स्कुटी मात्र होइन चार पाङ्ग्रे कारलाई काठमाडौंको अस्तब्यस्त रोडमा सहजै कुदाएको अनुभव थियो।

करिब नेपाली आठ हजार तिरेर बाइक भाडामा लिएँ। तर त्यति सजिलो पनि नहुने रैछ जे मैले सोचेको थिएँ। बिस्तारै पिकअप लिएँ। अनि कुदाएँ बेफिक्री। सायद काठमाडौंको निस्सासिँदो ट्राफिकको कुण्ठा मैले त्यहीँ पोखें। आफूसँग जे छ त्यसैमा खुसी हुनुपर्छ र त्यसैलाई आफ्नो स्ट्रेन्थ बनाउनु पर्छ भन्ने कुरा यो सफारीले सिकाउँछ। दुबईको अर्को आकर्षण हो- विश्वकै अग्लो भवन बुर्ज खलिफा।

https://raracms.setopati.com/uploads/shares/2020/sujita/dubai tour/dubai (1).jpg

उद्घाटन पूर्व बुर्ज दुबई नाम रहेको यो भवनको उचाइ ८२९.८ मिटर छ। दुबई सहरको पश्चिमी भागको अरब सागर तटमा निर्मित यो भवनमा गजुर भाग र पार्किङसहित कूल २११ तलाको छ।

व्यापारिक प्रयोजनका लागि निर्मित यो भवन सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको हो।

सर्वसाधारणका लागि १२४ औं तलामा गएर घुम्ने व्यवस्था रहेछ । करिब तीन हजार नेपाली रुपैयाँ शुल्क थियो प्रतिव्यक्ति। हामी टिकट लिएरभित्र प्रवेश गर्यौं।

मलाई खासमा लिफ्टमा यात्रा गर्न अलि सकस लाग्छ। १२४ तल्ला पुग्नुपर्ने भयो। जब लिफ्टभित्र पुग्यौं लिफ्ट चल्न सुरू हुनासाथ साठी, उन्साठी, अन्ठाउन्न गर्दै काउन्ट डाउन सुरू भयो। जब स्क्रिनमा जिरो देखियो हामी १२४ औं तल्लामा पुगिसकेका थियौं। बस् एक मिनेटमा।

सो तल्लाको छेउमा सिसाको बार थियो। ३६० डिग्रीमा आलिसान दुबई मनमनै भने ‘वाहु’।

https://raracms.setopati.com/uploads/shares/2020/sujita/dubai tour/dubai (1).jpg

https://raracms.setopati.com/uploads/shares/2020/sujita/dubai tour/dubai (1).jpg

उचाइदेखि डराउने म छेउमा धेरै बेर अडिन सकिनँ। यस्तो उचाइमा रिभल्विङ रेस्टुरेन्ट बन्ने अनि म मेरो श्रीमानसँगै बसेर साँझमा वाइनको चुस्की लगाउँदै दु:ख सुखको गफ गर्नु पाउनु-एउटा मीठो कल्पना।

बुर्ज खलिफाबाट फर्कंदै गर्दा सो भवन निर्माण गर्नेहरूको तस्बिर नियाल्दै थिएँ। कैयौं नेपाली दाजुभाइको योगदान देखेर छाती चौडा भयो। बुर्ज खलिफाकै आँगनमा भएको वाटर फाउन्टेन अर्को अद्भुत संरचना हो।

सङ्गीतको धुन पछ्याउँदै नाच्ने फाउन्टेनले जो कोहीलाई लोभ्याउँछ। मिराकल गार्डन अर्को अकल्पनीय सुन्दर संरचना।

हिउँदे सिजन ६ महिना खुल्ने बगैंचामा हजारौं जातका फूलहरू छ्न्। विश्वमै धेरै प्रजातिका फूलहरू पाउने दुबईको मिराकल गार्डेनमा फूलैफूलले इमिरेट्स एयरको जहाज पूरै ढाकिएको छ।

दस हजार फूलबाट मिक्की माउस बनाएर गिनिज बुकमा समेत रेकर्ड दर्ज गरिएको छ। हामीले विभिन्न प्रदर्शनीमा अनेकौं स्टल देख्न सक्छौं। दुबईको ग्लोबल भिलेज त्यो प्रदर्शनी केन्द्र हो जहाँ हरेक देशको छुट्टाछुट्टै स्टल छ्न्; आ-आफ्नै मौलिकता झल्काउने।

टर्कीको मिठाइ, अजरबैजानको जुत्ता मेरो सपिङ रोजाइमा परे। चार दिनको यात्राले केही थकान महशुस भएको थियो।

फ्रेस हुन लगुना वाटर पार्क जाने कुरा भयो। विभिन्न वाटर स्पोर्ट्स बनाइएको पार्कमा फ्री फल हुनेदेखि वेभ पुलमा आनन्द लियौं। छुट्टै संसारमा पुगेजस्तो भान भयो। यसरी छ दिनको दुबईको अविस्मरणीय यात्रालाई मनमा कैद गरेर हामीले यात्रा टुङ्ग्यायौं।

https://raracms.setopati.com/uploads/shares/2020/sujita/dubai tour/dubai (1).jpghttps://raracms.setopati.com/uploads/shares/2020/sujita/dubai tour/dubai (1).jpg

प्रतिक्रिया