शनिबार, चैत २८, २०७७

२०० बढी संक्रमित भएका जिल्लामा आजबाट सवारीमा जोरबिजोर

ज्योतिन्यूज २०७७ साउन २२ गते ७:०३

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आजबाट देखि जोरबिजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने निर्णय गरेको छ । काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेका सार्वजनिक र निजी सवारी साधन जोरबिजोर नम्बरका आधारमा चल्ने गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका यात्रुवाहक सवारी साधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको मन्त्रालय प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । यस्तै २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गराउने र्गह मन्त्रालयले जनाएको छ । , मास्क नलगाउने, जनस्वास्थ्यका मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जविरवाना गर्ने र जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवातजावतलाई कडाइका साथ निषेध गर्ने, होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी कोभिड–१९ को सङ्क्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड–१९ को थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयले जानकारी दिएको छ। रासस

प्रतिक्रिया