आइतबार, जेठ २, २०७८

बेरूत विस्फोटमा मृत्यु भएका १५४मध्ये ४३ सिरियाली नागरिक  

ज्योतिन्यूज २०७७ साउन २४ गते २०:१९

बेरूत
लेबनानको राजधानी बेरूत शहरमा गत मङ्गलबार भएकोे शक्तिशाली विस्फोटमा ४३ सिरियाली नागरिकको मृत्यु भएको लेबनानस्थित सिरियाली दूतावासले शनिबार जानकारी गराएको छ ।
दूतावासले लेबनानका अधिकारीहरूले घोषणा गरेको १५४ मृतकमा आफ्ना ती नागरिकको परेका हुन् वा विस्फोटपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेका व्यक्तिहरूमा आफ्ना नागरिकहरू परेको भन्ने विज्ञप्तिमा उल्लेख गरेको छैन विज्ञप्तिमा भनिएको छ, “विस्फोटमा परी मृत्यु हुने सिरियालीको सङ्ख्या ४३ पुगेको हामीलाई प्रष्ट जानकारी प्राप्त भएको छ । यो घटनामा अन्य केही सिरियालीले पनि ज्यान गुमाएका हुनसक्छन् । तर यसबारे पुष्टि हुनेगरी सूचनाहरू प्राप्त भएका छैनन् ।”
दूतावासले केही मृतकहरूलाई स्वदेश पठाउने र लेबनानमा आफन्त रहेका वा सिरिया पठाउन कानूनी समस्या भएका अन्य शवलाई लेबनानमा नै अन्त्येष्टि गरिने जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बेरुत बन्दरगाहमा मंगलबार भएको विस्फोट पछि ६० भन्दा बढी मानिस अझै वेपत्ता रहेको बताएको छ ।
घटनास्थलमा उपलब्ध एएफपीका प्रतिनिधिहरुका अनुसार विस्फोटमा परी मृत्यु भएका सिरियालीहरू बन्दरगाह शहरमा सामान लिएर प्रवेश गरेको पानीजहाजका चालक दलका सदस्य रहेको बताइएको छ ।
सिरियाली द्वन्द्वका कारण लेबनानमा करिब १५ लाख सिरियाली आप्रबासी तथा शरणार्थीहरू रहेको संयुक्त राष्ट्रसंघको तथ्याङ्क रहेको छ ।
विस्फोटमा परी मृत्यु भएका १५४मध्ये २५ जनाको अझै सनाखत हुन सकेको छैन भने ६० जनाभन्दा बढी अझै हराइरहेको लेबनानी स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्यमन्त्रालय स्रोतका अनुसार बेरूतमा भएको विस्फोटमा कम्तीमा पाँच हजार व्यक्ति घाइते भएका थिए । उनीहरूमध्ये १२० जनाको स्वास्थ्य अवस्था चोटका कारण गम्भीर रहेको र सबैको राजधानीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ । रासस/एएफपी

प्रतिक्रिया