शनिबार, वैशाख ४, २०७८

प्रदेश दुईका मुख्य शहरी क्षेत्रमा निषेधाज्ञा थपियो

ज्योतिन्यूज २०७७ साउन २५ गते २०:३४

जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिकामा एक साताका लागि निषेधाज्ञा थप
कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थालाई दृष्टिगत गर्दै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा जारी एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि आजराति १२ बजेसम्म भएकामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आज बसेको सुरक्षा समितिको बैठकले जोखिमलाई न्यूनीकरण गर्न निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो ।

सुरक्षा समितिको निर्णयअनुसार पूर्वमा कपिलेश्वर बसपार्क, उत्तरमा क्षीरेश्वरनाथ नगरपालिकाको जनकपुर–ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल पश्चिममा कुर्था र बसबिट्टी जाने बाटो, दक्षिणमा बनौली मोड, बसहिया सडकको सोनामति मन्दिर र प्रदेशसभा जाने मोडसम्म साउन ३२ गतेराति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले सो अवधिमा अत्यावश्यक सेवाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले बिहान ८ बजेदेखि १२ बजेसम्म निजी क्षेत्रको र दिउँसो २ बजेदेखि ५ बजेसम्म सरकारी क्षेत्रको कारोवार मात्र गर्ने एवं सामाजिक सुरक्षाभत्तासम्बन्धी कार्य शुक्रबार एक दिन मात्र गर्ने निर्णय गरिएको बताउनुभयो ।

त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयको सेवा प्रवाह स्थानीय तहलाई आलोपालो गरी सेवा प्रदान गर्न सम्बन्धित कार्यालयले व्यवस्थापन गरी सोको जानकारी सार्वजनिक गर्ने निर्णय पनि गरिएको छ । सो अवधिका शान्तिसुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, औषधि, दूध, खाद्य वस्तु, विद्युत्, दमकल, इन्धन, सरसफाइ, सञ्चार, भन्सार, क्वारेन्टिनजस्ता अत्यावश्यक सेवाबाहेक सम्पूर्ण पसल, उद्योग बन्द रहने जनाइएको छ ।

सप्तरीमा निषेधाज्ञाको अवधि थप
कोरोना सङ्क्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा लगाइएको निषेधाज्ञाको अवधि पुनःएक साताका लागि बढाइएको छ ।जिल्ला सुरक्षा समिति र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज सम्पन्न संयुक्त बैठकले जिल्लामा लागू रहेको निषेधाज्ञा पुनःएक साताका लागि थप गरेको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा बसेको बैठकले सप्तरी जिल्लाको सम्पूर्ण क्षेत्रभरि लगाइएको निषेधाज्ञालाई आगामी भदौ २ गते राति ११ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले बताउनुभयो ।

यसअघि जिल्ला सुरक्षा समितिले साउन २० गते बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था र जोखिम विश्लेषणका आधारमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम सप्तरी जिल्लाभरि अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको हो । निर्णयअनुसार नेपाल राजपत्रमा तोकिएको अत्याश्यक सेवा औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसामान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बंैकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन जस्ता अत्यावश्यक सेवाबाहेकको सेवा र स्थलमा अनावश्यक आवतजावत गर्न पाइनेछैन ।

उपरोक्त अत्यावश्यक कामसमेत तोकिएबमोजिमको स्वास्थ्य सुरक्षा सतर्कताको मापदण्डको पूर्ण पालना गरेर मात्र गर्न, गराउन पाइनेछ । आदेशको उल्लङ्घन गर्नेलाई कानूनबमोजिम कारवाही गरिने व्यवस्था छ । सप्तरी जिल्लामा हालसम्म ५७६ जना सङ्क्रमित देखिएको र त्यसमध्ये राजविराज नगरपालिका–६ का एक पुरुष र रुपनी गाउँपालिका–५ का एक पुरुष गरी दुई जनाको मृत्यु भइसकेको छ । बढ्दो सङ्क्रमणका कारण सजगता अपनाउन, सङ्क्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न निषेधाज्ञा लगाइएको प्रशासकीय अधिकृत ठाकुरले बताउनुभयो ।

आगामी मङ्गलबारको कृष्णाष्टमीलगायत कुनै पनि धर्मको कुनै पनि चाडपर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरी आफ्नै घरमा सुरक्षित साथ मनाउनसमेत प्रजिअ आचार्यले अनुरोध गर्नुभएको छ । /f;;

प्रतिक्रिया