शुक्रबार, असार ४, २०७८

त्रिभुवन राजपथमा पहिरोले एक जना बेपत्ता व्यक्तिको शव फेला , चार गाडी पुरिए

ज्योतिन्यूज २०७७ साउन ३० गते ७:२५

टिस्टुङ

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिनुभयो ।
पहिरोसँगै खसेको ढुङ्गाले थिचिएर मोक्तानको मृत्यु भएको र उहाँ घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरी निरीक्षक तामाङले बताउनुभयो । पहिरो खसेलगत्तै सम्पर्कविहीन भएका मोक्तानको खोजीकार्य बिहीबार बेलुका नै शुरु गरेको भए पनि माथिबाट पहिरो झरिरहेकाले सम्भव भएको थिएन । आज बिहानै घटनास्थल पुगेर प्रहरीले बेपत्ता व्यक्तिको खोजी शुरु गरेको थियो ।
मृतक ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आउनुभएको थियो । पहिरो खस्नु अघिसम्म उहाँ रेखदेखकै काममा खटिरहेको र पहिरो झर्न लागेको भन्दै अरुलाई सजग गराइरहेको प्रत्यक्ष दर्शीले बताएका छन् । पहिरोमा परेर एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिनुभयो ।
बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन् । ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आउनुभएको थियो । उहाँ सम्पर्कविहीन भएपछि बेहोस हुनुभएकी उहाँको पत्नीलाई राति नै नौखण्डैस्थित स्वास्थ्यचौकी पु¥याएर उपचार गरिएको छ । पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति अबेर फर्किएको थियो । अहिले बिहान प्रहरी घटनास्थल पुगिसकेको छ ।

प्रतिक्रिया