शुक्रबार, वैशाख १०, २०७८

सिन्धुपाल्चोकको लिदीमा पहिरो : १८ घर पुरियो, ३६ सम्पर्कविहीन

ज्योतिन्यूज २०७७ साउन ३० गते ११:२१

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिरोमा १८ घर पुरिएका र ३६ जना सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पहिरामा परी गम्भीर घाइते पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी सदरमुकामस्थित चौतारा अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।
घटनाको जानकारी पाएलगत्तै जलबिरेस्थित इलाका प्रहरी कार्यालयबाट टोली त्यसतर्फ गएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । घाइतेको उद्धारका लागि मनाङ एयरको हेलिकप्टर पनि घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । करिब एक किलोमिटरमाथिबाट झरेको पहिराले अन्य २५ घर उच्च जोखिममा रहेको र पहिरो झर्नेक्रम नरोकिएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।
घाइतेको उद्धारका लागि नेपाली सेनाको टोली पनि त्यसतर्फ जाँदै गरेको बताइएको छ । २०७२ सालको भूकम्पले थिलथिलो पारेको ठाडो भिरालो जमिनमा शिवश्री हाइड्रो पावरले विद्युतगृहको सुरुङ निर्माण गर्ने क्रममा विस्फोटक पदार्थले जमिन थर्किएकाले पहिरो स्थानीयवासीले आरोप लगाएका छन् ।

लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली सैनिक र एक इञ्जिनीयरलाई त्यसतर्फ पठाइएको छ । त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिनुभयो ।
जुगल गाउँपालिका– २ लिदीमा आज बिहान भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयवासीको भनाइ छ ।
आज बिहान करीब साढे ६ बजेतिर गएको पहिरामा पुरिएकामध्ये पाँच घरका मानिस सम्पर्कविहीन भएको जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयवासी पेशलाल दोङका अनुसार दुई जनाको शव देखिएको छ । माथिबाट पहिरो आइरहेकाले खोज तथा उद्धारमा समस्या भएको उहाँले बताउनुभयो ।
पहिरामा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयवासीले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।
नजीकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिराले बगाएकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले कात्तिकेबाट प्रहरी उद्धारका लागि गए पनि लामो बाटो पार गर्नुपरेकाले प्रहरी घटनास्थल पुग्न समय लाग्ने बताउनुभयो ।
यही साउन २३ गते सो ठाउँका बासिन्दाले बस्ती जोखिममा परेको भनी जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानान्तरण गर्न निवेदन दिएको स्थानीयवासी आशबहादुर तामाङले बताउनुभयो । ‘हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो’, उहाँले भन्नुभयो: ‘प्रशासनले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षति हुने थिएन ।’
तामाङका अनुसार २६ मेगावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा विस्फोटन गर्दा जमीन हल्लिएका कारण पहिरो गएको हो । ‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका पाँच सयभन्दा बढी घरहरु जोखिममा परेको बताएका थिऔ’, तामाङले भन्नुभयो ।

प्रतिक्रिया