आइतबार, फागुन २३, २०७७

‘पण्डित बा’ को बिजुली रिक्सा

ज्योतिन्यूज २०७७ साउन ३० गते १७:०८

कृष्ण सिग्देल,बारा

सकुञ्जेल आफ्नै परिश्रम र मेहनतमा बाँच्नुपर्छ भन्ने सन्देशका बाहक हुन् प्रेमचन्द्र लम्साल । बाराको सिमरा आसपासमा करिब १ सय इ रिक्साहरु चल्छन् । तिनै रिक्साहरुको भिडमा सधैँजसो देखिने अनुहार हो सिमरा औराहाका ६२ वर्षे लम्साल । उनी सधैँजसो निधारमा सेतो चन्दन टिका र पहेँलो वस्त्रमा चालकहरुको लाममा प्यासेन्जर खोजिरहेका हुन्छन् ।

२०४२ सालमा राजधानीबाट बारामा बसाई सरेका लम्सालका अनेकन जीवन भोगाईका अनुभवहरु छन् । स्कुले शिक्षा ३ कक्षासम्म मात्र पढेका उनले १३ बर्षको उमेरमा गुरुकुलमा बसेर ६ महिना कर्मकाण्ड ज्ञान नै उनको औपचारिक शिक्षा हो ।

उनी १६ बर्षकै उमेरमा २०३० सालतिर नेपाल प्रहरीमा जागीरे भए । सिपाहीबाट हवल्दारसम्म भएर उनले ३८ सालतिर जागीर छाडे ।

८ बर्ष प्रहरीमा जागीरखाएका लम्साल प्रहरी जागीरबाट बिरक्तिएर भारततिर लागेको उनी सुनाउँछन् । प्रहरी सेवामा टिक्न सकिएन, ८ बर्ष काम गरेर हवल्दासम्म भएको थिएँ, उनी भन्छन् पछि भारततिर गएँ, तर उतापनि सुख चैँ भएन ।

२५ बर्षको उमेरमा श्रमका लागी भारत गएका लम्सालले आफ्नो जिवनको महत्वपुर्ण १३ बर्षसम्म उतै सेक्युरिटी गार्डमा बिताए । पछि जागीर छाडेर नेपाल फर्किएका उनले आफ्नो परिवारलाई राजधानीबाट बाराको कोल्हबी बसाई सारेर ल्याए ।

उनका छोराहरु कमाउने भैसकेका थिएनन् । दुई छाकको जोहोका लागि उनले गाउँमै किराना पसलदेखी हाडवेयरपसलसम्म चलाए । यहाँपनि उनले आफुलाई टिकाउन सकेनन् र २०५७ सालतिर बारा कोल्हबीबाट बसाई सरेर औराहा आईपुगे ।

पछि उनी औराहको एक प्रसिद्ध कृष्ण प्रणामी मन्दिरको पुजारी हुन पुगे । १३ बर्षको उमेरमा गुरुकुलमा बसेर अध्ययन गरेको शिक्षालाई उनले जिवनको अर्धसतकपछि प्रयोगमा ल्याउने अवसर पाए ।

मन्दिरको पुजारी भएदेखी उनी पंडित बा ले चिनिन्छन् । मन्दिरको पबित्रतामा ७ बर्ष पुजारी भएर सेवा गरेका लम्सालले एक बर्ष अघिदेखी अहिले रिक्सा चलाउन थालेका छन् । उनका आँखामा मन्दिरका मानिसदेखी रिक्साका पेसेन्जरसम्म भत्तजन हुन् ।

मन्दिरमा छँदापनि सेवा नै गरेँ, अहिले पनि सेवा नै गरिरहेको छु, उनी भन्छन् , मेरा लागि सबै भक्तजन, उनैको सेवाको दानबाटै रोजीरोटी चलाउँछु ।
रिक्सा चढन आउने जो कोहीलाई पनि भाडा यती उती लाग्छ भन्ने उनको बानी छैन । उनले यात्रुलाई गन्तब्यमा पुर्याएपछि भन्ने गरेका छन् ः छैनभने पर्दैन, छ भने जति दिँदा पनि हुन्छ ।
उनले यात्रुलाई गन्तब्यमा पुर्याए बापतको दान झैँ भाडा लिन्छन् । र पनि उनले दैनिक १ हजार ५ सय देखी २ हजारसम्म कमाएर बेलुका घर पुर्याउँछन् ।

पेसा र कर्म सानो ठुलो हुँदैन भन्ने गतिलो उदाहरण बोकेका लम्सालले उमेरमा बिदेश जाने नेपाली युवालाई पैसा नेपालमै छ भन्ने सन्देश दिन पनि चाहन्छन् । उनका श्रीमती, दुई छोरा छन् विवाह भइसकेको छ । पण्डित बा अहिले हजुरबा पनि भइसकेका छन् । तर विडम्बना नै भन्नुपर्छ जेठो छोरो र बुहारी दुुबै बहिरा छन्् । तर जेठो छोरो स्थानीय खानेपानी समितिमा जागीरे छन् । कान्छो छोरो पनि एक उद्योगमा सुरक्षा गार्डमा रोजगारी गर्छन् ।

तर लम्सालले आफ्नो बाहुबल चलेसम्म छोरा नातीको कमाई खान नपरोस् भन्ने चाहन्छन् । पहिले त साहै्र दुःख थियो, अहिले त दुबै छोरा जागीरे छन्, उनी सुनाउँछन्, वर्षले त ६२ पुगेँ, तर आफुलाई बुढो र कमजोर जस्तो महशुुस भएको छैन, अझै २० बर्षसम्मै रिक्सा चलाउन सक्नु जस्तो लाग्छ ।

सिमरामा उनी अचेल पण्डित जि को रिक्सा भनेर फेमस छन् ।

प्रतिक्रिया