बुधबार, वैशाख २९, २०७८

भ्रष्टाचार विरुद्ध सैनिक अदालतको फैसला सेनाका तीन जना बर्खास्त

ज्योतिन्यूज २०७७ भदौ १ गते ९:५२

काठमाडौं ।

नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई भ्रष्टाचार गरेको ठहर गर्दै सैनिक सेवाबाट सैनिक अदालतले बर्खास्त गरेको छ । वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत रहँदा उनलाई सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर समेत गरेको ठहरपछि आइतबार सहायक रथी राणासहित महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको हो ।
स्रोतका अनुसार सैनिक अदालतले राणाले एक  करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ २९ पैसा हिनामिना गरेको ठहर गरेको छ । राणालाई जेठदेखि सेनाको राष्ट्रिय सेवा दलमा थुनामा राखिएको छ ।सुरुमा ८ करोड रुपैयाँ घोटालाको आरोप लागेको भएपनि राणालाई बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी करबाही गरिएको छ ।
त्यसैगरी, महासेनानी सिलवाललाई १५ लाख ७८ हजार ४ सय ८० रुपैयाँ बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर नहुने गरी करबाही गरिएको छ ।
सैनिक अदालतको फैसला सैनिक ऐन, २०६३ बमोजिम भएको सेनाले जनाएको छ । साथै सो प्रकरणमा मुछिएका सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गर्ने निर्णय सैनिक अदालतले गरेको छ ।
यसैगरी, प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त)लाई सफाइ दिने गरी फैसला भएको छ ।
सेनाका एक उच्च अधिकारीले सेनाभित्र अब रिभर्स करप्सनले गति लिन थालेको र भ्रष्टाचार गरिसकेपछि म पहिला त्यहाँ कार्यरत थिएँ तर अब बचें भनेर मुक्त हुन सक्ने अवस्था नरहेको बताए ।
सेनाभित्र भ्रष्टाचार, अनियमितता तथा बेथिति बढेको गुनासो आउन थालेपछि पछिल्लो समय त्यस्ता गतिविधिविरुद्ध प्रधान सेनापति पूर्णचन्द्र थापाले कडा कदम चाल्दै आएका छन् ।

प्रतिक्रिया