शनिबार, वैशाख ४, २०७८

कोरोना कहर : मकवानपुर,जुम्ला बारा र सिराहामा पुनः निषेधाज्ञा

ज्योतिन्यूज २०७७ भदौ १ गते १०:१२

वाग्मती १ भदौ ।
मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटाँैडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना सङ्कट व्थवस्थापन केन्द्रको आज बसेको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको बताइएको छ ।
कोरोना भाइरस जनस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भन्नुभयो । निषेधाज्ञा विगतको तुलनामा कडा पारिने उहाँका भनाइ छ । निषेधाज्ञाको समयमा बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म पसल खुला रहने छ ।
त्यस अवधिमा हेटौँडाका खाद्यान्न, तरकारी र फलफूलका पसल सञ्चालन हुने बताइएको छ । साथै हेटाँैडा उपमहानगरपालिका तथा प्रहरीद्वारा माइकिङ गरी निषेधाज्ञाको पालना गर्न टोल तथा बजारमा सूचनासमेत जारी गरेको पाइएको छ । त्यसैगरी सुरक्षा सतर्कता पनि बढाइएको छ । जिल्ला बाहिरबाट भित्र तथा जिल्ला भित्रबाट बाहिरको आवागमनममा पनि रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जुम्लामा पुन:  निषेधाज्ञा

जुम्ला, ।

जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो ।
चन्दननाथ नगरपालिका भने सिल नै गरिएको छ । बजार क्षेत्र भएको नगरपालिकाको पूर्वमा दानसाँघु, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय, दक्षिणमा तिलानदी र पश्चिममा गमगाड क्षेत्रभित्रका औषधि पसलबाहेक अन्य सम्पूर्ण पसल पूर्णरूपमा बन्द गरिएको छ । पातारासी गाउँपालिकामा भने यसअघि नै निषेधाज्ञा गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जारी गर्नुभएको निषेधाज्ञामा साउन ३२ गते राति १२ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । स्थानीय प्रशासनले सङ्क्रमण रोग ऐन, २०२० को २(२) र स्थानीय प्रशासन ऐन २०२८, को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा विभिन्न स्थानमा स्वाब सङ्कलन गर्दा समुदायमा कोरोना फैलिनबाट रोक्न, सङ्क्रमण हुन नदिन निषेधाज्ञा गरिएको हो ।”
यसैगरी कुनै पनि भेला नगर्नसमेत निर्देशन गरिएको छ । तीज नजिकिँदै गर्दा विभिन्न स्थानमा हुने भेला, गाउँमा धार्मिक मेला र राजनीतिक भेलाले जोखिम बढेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।

बारामा अनिश्चित्कालिन निषेधाज्ञा, घरको कम्पाउण्डमा समेत निस्कन नपाईने

सिमरा।
बारामा कोनोना संक्रमणको दर दिनानुदिन बढेपछी अनिश्चितकालका लागी निषेधाज्ञा जारी गरिएको छ ।
आम नागरिकको जीवनरक्षा तथा रोगका संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला कोभिड समन्वय समितीको वैठकले सोमबार बिहान ५ बजेदेखी लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधीमा औषधी पसललाई २४ सै घण्टा खोल्न अनुमती दिइएको छभने अन्य अत्यावश्यक सामग्रीका पसलहरु खाद्यान्न, ग्यास, इन्धन, दुध डेरी , तरकारी पसलहरुसमेत बिहान ८ बजेभित्रै बन्द गरिसक्न निर्देशन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा सम्बन्धी सुचनामा निषेधाज्ञा अवधीभर अत्यावश्यक काम बाहेक मानिसहरुलाई घर बाहिर वा घरको कम्पाउण्डमा समेत ननिस्कन आदेश दिइएको छ ।

सिरहाका सबै स्थानीय तहमा आजदेखि १५ दिन लकडाउन

लहान ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले आ–आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समितिको निर्णयअनुसार लकडाउन गर्न सबै पालिकालाई पत्राचार गरिसकेको प्रजिअ कँडेलले बताउनुभयो ।
यसैबीच कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सिरहा नगरपालिका र गोलबजार नगरपालिकाले जारी गरेको लकडाउनलाई आजदेखि दुई साता थप गरिएको छ । सिरहा नगरपालिकाले आज बिहानदेखि १५ दिन थप लकडाउन गर्ने निर्णय गरेको छ । प्रजिअ कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि आजदेखि भदौ १५ गतेसम्म लकडाउन थप गरिएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले जानकारी दिनुभयो ।
यसअघि सो नगरपालिकाले साउन २५ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्म लगाइएको लकडाउन गए राति १२ बजे सकिएपछि आज बिहानबाट लकडाउनको अवधि भदौ १५ गते राति १२ बजेसम्मका लागि थप गरिएको नगरप्रमुख यादवले बताउनुभयो ।
त्यसैगरी गोलबजार नगरपालिकाले पनि लकडाउन दुई साताका लागि थप गरेको छ । गोलबजार नगरपालिकाले आज बिहानदेखि भदौ १५ गतेसम्मका लागि लकडाउन थप गरिएको नगरप्रमुख देवनाथ साहले जानकारी दिनुभयो । नगरभित्र अति आवश्यक औषधि पसल, ढुवानी सेवा, एम्बुलेन्स तथा अत्यावश्यक इमर्जेन्सी गाडी चल्ने गरी लकडाउनको समय बढाइएको गरिएको छ ।
यस्तै कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय लहानले आजदेखि भदौ १५ गतेसम्म अत्यावश्यक कामबाहेक सम्पूर्ण कार्य बन्द गरेको छ ।कार्यालयले सूचना प्रकाशित गरी आजदेखि १५ दिनका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै काम बन्द गरिएको जनाएको छ ।

प्रतिक्रिया