शनिबार, असोज ३०, २०७८

प्रम,अध्यक्ष दाहाल र देउवा वीच संवैधानिक नियुक्तिबारे छलफल

ज्योतिन्यूज २०७७ भदौ १ गते १८:३२

फोटो:गोप

काठमाडौँ, १ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोग लगायत रिक्त पदमा नियुक्ति गर्ने सम्बन्धमा  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवासंँग छलफल गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संवैधानिक आयोग र विश्वविद्यालयमा रिक्त पदको नियुक्ति, कोरोना भाइरस (कोभिड–१९) र बाढीपहिरोलगायत समसामयिक विषयमा कुराकानी भएको थियो ।
संवैधानिक आयोगका रिक्त पदमा समझदारीअनुसार चाँडै नियुक्त गर्ने विषयमा सहमति भएको छलफलमा सहभागी नेकपाका नेता सुवास नेम्बाङले जानकारी दिनुभयो । “विभिन्न संवैधानिक आयोगका पद रिक्त रहेका छन् । रिक्त पद खाली राख्नु हुँदैन भन्नेबार उहाँहरुबीच छलफल भयो”, नेकपा संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो, “ रिक्त पदमा चाँडै आपसी समझदारीअनुसार नियुक्ति गरेर पूर्णता दिने विषयमा छलफल भयो । चाँडै ती रिक्त पदमा पदपूर्ति हुन्छ ।” अहिले अख्तियार दुरुपयोग अनुसन्धान, निर्वाचन, महिला, थारु आयोगलगायत अधिकांश आयोगमा पदाधिकारी रिक्त छन् ।
यस्तै उहाँहरुबीच विभिन्न विश्वविद्यालयमा रिक्त पदमा नियुक्ति तथा ती विश्वविद्यालयमा भइरहेको तालाबन्दी र आन्दोलनबारे पनि छलफल भएको बताइएको छ । यस्तै महामारीका रुपमा रहेको कोभिड–१९ को रोकथाम र नियन्त्रण तथा देशभरि बाढीपहिराले पु¥याएको क्षति र त्यसबाट जोगाउने उपायबारे पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

संवादबाट सहमतिमा पुग्न आग्रह

कांग्रेस सभापति देउवाले सार्वजनिक जरुरी महत्वका विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको जनाइएको छ । सभापति देउवाले सिन्धुपाल्चोकको लिदीमा पहिरो जानु १० दिनअघि स्थानीयवासीले गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याएको भनी आलोचना गर्दै सोको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन भनी प्रश्न गर्नुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँले मुलुकका विभिन्न भागमा बाढीपहिराबाट भएको जनधनको क्षति न्यूनीकरणका लागि व्यवस्थित र प्रभावकारी ढङ्गले कार्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको मुख्यसचिव पौडेलले बताउनुभयो । पूर्वप्रधानमन्त्री देउवाले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० नाघेको र सङ्क्रमण तीव्र गतिमा विस्तार भएको उल्लेख गर्दै बढ्दो चुनौती सामना गर्न कमजोरी समीक्षा गरी नयाँ रणनीतिका साथ कामको गति बढाउन तथा आइसोलेशन र भेन्टिलेटरको पर्याप्त ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
साथै उहाँले त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसङ्गतिमाथि कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रजातन्त्रवादी प्राध्यापक सङ्घको सभापतिलगायतलाई मुद्दा लगाउने, जायज मागको सुनुवाइ नगर्ने र अनशनमा बसेका विद्यार्थीसँग संवाद नगर्ने प्रवृत्ति पाइएको बताउनुभएको पार्टीले जनाएको छ । उहाँले अविलम्ब संवादबाट समाधानमा पुग्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको बताइएको छ । भेटमा सभापति देउवासँगै पार्टी केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया