सोमबार, साउन १८, २०७८

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी

ज्योतिन्यूज २०७७ भदौ २ गते १९:४७

काठमाडौँ, २ भदौ ।
सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी (पौडेल) लाई तोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षमा तोक्ने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रवित्रिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । यसअघि सञ्चार मन्त्रालयले भण्डारीलाई काउन्सिलको सदस्यमा नियुक्ति गरेको थियो । भण्डारी विगत २५ वर्षदेखि मोफसलमा पत्रकारिता गर्दै आउनुभएको थियो । झापा भद्रपुर नगरपालिका–८ मा जन्मिनुभएका भण्डारी हाल पोखरा महानगरपालिका–५ मा बस्दै आउनुभएको छ ।
आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तह उतीर्ण गर्नुभएका उहाँ कानून व्यवसायी रहनुहुन्छ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य, प्रेस चौतारी नेपालको सचिव र सञ्चारिका समूह पश्चिमान्चल अध्यक्ष रहनुभएको छ । यसैगरी काउन्सिलको सदस्य पदमा पत्रकार दीपक पाण्डेले नियुक्ति हुनुभएको छ । पत्रकार महासङ्घको केन्द्रीय सदस्य तथा लेखा संयोजक रहिसक्नुभएका पाण्डे दृष्टि साप्ताहिक, प्रकाश साप्ताहिकको सम्पादकको रुपमा काम गरिसक्नुभएको छ । उहाँ हाल जनता टेलिभिजनको सम्पादक सल्लाहकारको रुपमा रहनुभएको छ । पाण्डेको सोमबार काउन्सिलमा सपथ ग्रहण गरिसक्नुभएको छ ।

प्रतिक्रिया