शुक्रबार, असार ४, २०७८

राष्ट्रकविको अन्तिम गीतः आफू बितेपछि सार्वजनिक गर्न आग्रह

ज्योतिन्यूज २०७७ भदौ २ गते १९:५५

काठमाडौँ, २ भदौ
राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ । आज साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र सङ्गीतमा पहिल्यै रेकर्ड गराउनुभएको थियो ।
गीतमा कर्ण दासको स्वर र छ । घिमिरेका नातिनीज्वाइँ डा प्रकाश भट्टराईले उक्त बोलको गीतको अडियो सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गर्दै राससका समाचारदाता प्रकाश सिलवालमार्फत उपलब्ध गराउनुभएको हो । डा भट्टराईले केही अनलाइनले आफ्नो मात्रै एकाधिकार र स्वामित्व जस्तो अर्थ लाग्ने गरी गीत सार्वजनिक गराएकामा आपत्ति प्रकट गर्नुभयो ।
राष्ट्रकविको गीत :
“त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।

अमरापुरी सभामा आफैंलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।”

‘गौरी’ र ‘ऋतम्भरा’ लगायत कृति छाडेर राष्ट्रकवि घिमिरे चीर निद्रामा“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको ।”
नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन । वर्तमान आधूनिक कविता, विशेषतः छन्कवितार गीति लेखनमा सर्वाधिक शिखरमा पुगेका राष्ट्रकवि घिमिरेको आज साँझ लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा निधन भएको हो । उहाँ आउँदो असोज ७ गते १०२ वर्ष पुग्दै हुनुहुन्थ्यो । उहाँको शवलाई अहिले निवासमै राखिएको छ भने साहित्यकार र शुभेच्छुक श्रद्धाञ्जलिका लागि जाने क्रम शुरु भएको छ ।
कोरोना महामारीको जोखिम भएकाले भीडभाड गर्ने स्थिति छैन । उहाँको निवासमा नेपाली सेनाको टोली पनि जाने तयारी गरेको छ । राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गर्नुभएको थियो ।
कविवर घिमिरेका छोरी मञ्जु अधिकारीले उहाँ उमेरगत कारणले पछिल्ला दिनमा सामान्य अवस्थ्य हुनुभएको थियो भने आफ्नो जीवनको अर्काे अनुपम कृति ‘ऋतम्भरा’ महाकाव्य लाई प्रकाशनको तयारीमा रहनुभएको थियो । छोरी अधिकारीका अनुसार उक्त महाकाव्यलाई उहाँले लगभग पूरा गर्नुभएको थियो तर छन्द मर्मज्ञ र परिष्कारवादी कवि भएकाले पटकपटक आफैले परिष्कार गरेपछि मात्रै प्रेसमा दिने स्वभावका हुने भएकाले प्रकाशन हुन पाएको थिएन । छोरी अधिकारी रासससँग भन्नुभयो, “सो महाकाव्यलाई अब भाइहरुले प्रकाशनमा ल्याउनेछन् । जीवन एक यात्रा हो । बुबा अब नयाँ यात्रामा प्रविष्ट हुनुभएको छ ।”
कविवर घिमिरेका पछिल्ला समयमा “बुढेससम्मन् पनि ज्यून जाने यो जीवनीको रस प्यून जानौँ” जस्ता भावका काव्यरस प्रकाशित भएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले पारिवारिक स्रोतबाट कविवरको निधन भएको जानकारी पाउँदा दुःख लागेको र कार्यालयबाट घर आइसकेको भए पनि आफूहरु श्रद्धाञ्जलिका लागि लैनचौरमा जान लागेको र अन्त्येष्टिका लागि नेपाल सरकारबाट हुने राष्ट्रिय सम्मानको निर्णय आएपछि थप जानकारी दिइने बताउनुभयो ।
घिमिरे सय वर्ष पुगेको वर्ष मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले उक्त वर्षभरि जन्म शताब्दी मनाई उहाँको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायत कार्यक्रम गरेको थियो । लमजुङको पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जेठा सन्तानका रुपमा जन्मनुभएका घिमिरेको जन्म शताब्दी र अर्धाङ्गिनी महाकाली घिमिरे ८४ वर्ष प्रवेशको अवसरमा निवासमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको थियो ।
घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उहाँले रचेको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन् । राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ । उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्र्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका पाइन्छन् । उहाँका श्रीमती, दुई छोरा र ६ छोरी रहेका छन् ।रासस

प्रतिक्रिया