शनिबार, फागुन २२, २०७७

अपहरण र प्रहरी कुट्नेहरु पक्राउ

ज्योतिन्यूज २०७७ भदौ ८ गते १७:३७

सुनसरी, ८ भदौ ।
अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने वुदर भन्ने ३७ वर्षीय विदुर यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको २०७० साल असोज ६ गतेको फैसलाले उक्त मुद्दामा ११ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कोशी गाउँपालिका-७ बाट पक्राउ गरेको हो ।
यादवलाई जिल्ला अदालत सुनसरीको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै कंचनपुरमा प्रहरी कर्मचारीलाई कुटपिट गरी अभद्र व्यवहार गरेको अभियोगमा महाकाली नगरपालिका-८ सुन्दरनगर बस्ने २० वर्षीय राजेश सुनार लगायत ४ जनालाई सोही नगरपालिका सुन्दरनगर पुलबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिकास्थित शिव मन्दिर नजिक देउराली घाट बस्ने ३५ वर्षीय गणेश खत्रीलाई कुटपिट गरेको घटनामा संलग्नलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । खत्री कुटपिटबाट बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाएकोमा थप उपचारको लागि धनगढी रिफर गरिएको छ र  घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया