शुक्रबार, वैशाख ३१, २०७८

म्याग्दीमा चार जना डेङ्गु र स्क्रबटाइफसका बिरामी

ज्योतिन्यूज २०७७ भदौ ९ गते ९:०९

म्याग्दी, ९ भदौ ।
म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु र स्क्रबटाइफस भएको हो ।
बेनी नगरपालिका–४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका–५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ३३ वर्षका पुरुषमा डेङ्गु र स्क्रबटाइफस भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरकी ३३ वर्षीया महिलामा भने डेङ्गु मात्र देखिएको छ । उनीहरु बाहिरबाट नआएर स्थानीयस्तरमै खेती किसानी र व्यापार व्यवसाय गर्ने व्यक्ति हुन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यस वर्ष ३७ जना डेङ्गु र १२ जना स्क्रबटाइफसका बिरामी भेटिएका छन् ।
गत वर्ष १३ जना डेङ्गु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनि पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ ।
नेपालमा गत वर्ष केही डेङ्गु सङ्क्रमितको ज्यानसमेत गएको थियो । पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने, शरीरमा बिमिरा आउने एवं हाडजोर्नी तथा मांसपेशी दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् ।
टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रम, घर, कौसीको गमला, फूलदानी, एयर कण्डिसन, कुलर र पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ । स्क्रबटाइफस किर्नाको टोकाइबाट सर्छ । डेङ्गु र स्क्रबटाइफसका केही लक्षण मिल्दोजुल्दो हुन्छ । स्वास्थ्य कार्यालय र स्थानीय तहले डेङ्गुको बासस्थान नष्ट गर्नाका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।

जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ

बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् । धवलागिरि गाउँपालिका–३ ९साविक मुना गाविस–७० दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिनुभयो ।
घर्तीसमेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरी हत्या गरेको मुद्दामा अदालतले सोही वर्ष ९जन्मकैद० को फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले घर्तीलाई आइतबार दरबाट पक्राउ गरेर बेनी ल्याएको थियो । अदालतमा पेश गरी सोमबार सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा चलान गरिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।
प्रनाउ कुँवरका अनुसार पछिल्लो दुई महिनामा कर्तव्य ज्यान, डाकाचोरी, लागुऔषधलगायत मुद्दाका १३ फरार कसुरदारलाई पक्राउ गरिएको छ । दोषी ठहरगरेका व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुग्नुका साथै पीडितले न्यायको अनुभूति गरेका छन् ।
जिल्ला अदालतका अनुसार गत वर्ष कूल रु एक करोड सात लाख २० हजार २४७ जरिवाना असुलउपर गर्नुपर्नेमा रु ११ लाख ९५ हजार ८९८ असुलउपर भएको छ । यसैगरी कूल एक हजार ४९ वर्ष सात महिना २९ दिन कैद सजाय असुलउपर गर्नुपर्नेमा १८८ वर्ष सात महिना २९ दिन बराबरको कैद असुलउपर भएको छ । जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर फैसला कार्यान्वयनमा जोड दिइएको तहसिलदार धर्मराज सुवेदीले बताउनुभयो ।रासस

प्रतिक्रिया