बुधबार, असार ९, २०७८

लुकाएको अवैध जडिबुटी र लागूऔषध कारोबारी पक्राउ

ज्योतिन्यूज २०७७ भदौ ९ गते १३:४१

लमजुङ, ९ भदौ ।
अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित बेसिशहर नगरपालिका-७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा अवैध जडिबुटी ४ सय ७६.१ केजी डालिङ, १ सय ५४ केजी वन लसुन, २४.६ केजी कुड्की, १४.९ केजी जटामसी, १८.३ केजी सुगन्धवाल, ४.४ केजी सतुवा र २.८ केजी वन आलु फेला पारी बरामद गरेको छ ।
तामाङलाई बरामद जडिबुटी सहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

लागूऔषध सहित विभिन्न  स्थानबाट ११ कारोबारी पक्राउ

काठमाडौं, ९ भदौ
बाँके, नेपालगंज उपमहानगरपालिका-१३ उधौपुरुवा बस्ने २२ वर्षीय ओम प्रकाश सिंहलाई २० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित किसान इँट्टाभट्टामा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनले प्रयोग गरेको १ थान साईकल सहित पक्राउ गरेको हो ।
त्यस्तै दाङ, लमही नगरपालिका-२ श्रीगाउँबाट ३९ ग्राम लागूऔषध ब्राउन सुगरसहित कपिलबस्तु शिवराज नगरपालिका-२ बस्ने ४० वर्षीय शालिक राम सारु मगर सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित ड्रिमल्याण्ड होटलमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा उक्त लागूऔषध फेला पारी उनले प्रयोग गर्ने गरेको बा.१२ च २११६ नम्बरको गाडी सहित उनीहरुलाई पक्राउ गरेको हो ।
र महोत्तरी, मनरा सिस्वा नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध २ सय १ बोतल कोरेक्स र ६ सय ट्याब्लेट नाईट्रोभेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ज.७ प. ४३५६ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ सम्सी पोखरभिण्डा बस्ने ३० वर्षीय अनिल महतो र उनकै भाइ २६ वर्षीय अजय कुमार महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मनराकट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया