आइतबार, फागुन १६, २०७७

शनिबार नेकपा सचिवालय बैठक बस्ने

ज्योतिन्यूज २०७७ भदौ ९ गते १४:०४

काठमाडौँ, ९ भदौ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आउँदो शनिबार सचिवालय बैठक बोलाएको छ । द्वयअध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तामा १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको बनेको छ ।
यसबारे राससले लेखेको छ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी शनिबार बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको छलफलमा यही भदौ १३ बिहान ११ बजे बैठक बस्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकको कार्यसूची पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदन हुने छ । थापाका अनुसार आज दुई अध्यक्षबीच दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।
गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिक्रिया