शनिबार, असोज ९, २०७८

अब सामान्य अवस्थाका कोरोना बिरामीलाई अस्पतालमा राख्न नदिइने

ज्योतिन्यूज २०७७ भदौ १० गते १९:५२

काठमाडौँ, १० भदौ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड–१९ अस्पताललाई पत्र लेख्दै कोभिड–१९ का लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई पिसिआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
“केन्द्रले कोभिड–१९ को लक्षण नभएको र सामान्य अवस्थाका बिरामीलाई १० दिनमा पिसिआर गरी डिस्चार्ज गरेर घर पठाउन निर्देशन दिएको छ”,उहाँले भन्नुभयो, “यही १० दिनमा सङ्क्रमण पुनः देखिएका १४ दिनभित्र पिसिआर परीक्षण नगरिकन डिस्चार्ज गर्न प्रदेश मन्त्रालयलाई र सबै कोभिड–१९ अस्पतालाई निर्देशन पुनः दिइएको छ ।”
मन्त्रालयले १४ दिनभन्दा बढी लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितका विरामीलाई अस्पतालमा नराख्न निर्देशन दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. गौतमले १४ दिनभन्दा बढी राखेमा सरकारले सोध भर्ना नगर्नेसमेत जानकारी दिनुभयो । नेपालमा अहिलेसम्म ३४ हजार ४१८ जना सङ्क्रमित फेला परेकोमा १४ हजार ७३९ जना सक्रिय सङ्क्रमित रहेका छन् भने १९ हजार ५०४ जना निको भएर घर फर्किसकेका र १७५ जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।

प्रतिक्रिया