सोमबार, कार्तिक ८, २०७८

कर्मचारीतन्त्र र पद्धतिप्रतिको नकारात्मक धारणा कसरी बदल्ने  

ज्योतिन्यूज २०७७ भदौ १६ गते १२:२८

कर्मचारीतन्त्र र पद्धतिप्रति रहेको नकारात्मक धारणा बदल्न राष्ट्रसेवक कर्मचारीले गर्नु पर्ने कार्य र व्यवहार कर्मचारी र पद्धतिप्रति बनेको नकारात्मक धारणामा परिवर्तन गर्नु कर्मचारीतन्त्र सामू रहेको प्रमुख चुनौती हो ।

अहिले कर्मचारीतन्त्र र पद्धति यी दुई यस्ता शब्द बनेकी जसलाई खराब कर्मचारीतन्त्र वा खराब पद्धति भनेर लेख्नु जरुरी भएन भनेर भन्न थालियो । यी दुवै शब्दहरु आफैंमा नै नकारात्मक धारणाका लागि उपयोग हुन लागेका हुन् कि भन्ने देखिन्छ ।

आखिर यो सबै कसरी भयो । जबकी अधिकांश कर्मचारी महेनती पनि छन् सेवा प्रवाह पनि गरिरहेकै छन् तर पूरै कर्मचारीतन्त्र र पद्धति प्रति नकारात्मक बुझाई बनेको छ । निजामती सेवा प्रति हाकिमी प्रवृत्ति र पद र शक्तिको प्रभाव देखाउने भन्ने किसिमको आमधारणा बनेको छ ।

निजामती कर्मचारीले आम जनताको आफूप्रतिको यो छविलाई बदल्नु जरुरी छ । यो छवि पक्कै पनि केही हदसम्म विगतको विरासत पनि हो । निजामती कर्मचारीको पहिचान कडा शक्तिसंग होइन नरम शक्तिसंग हुनुपर्छ ।किनभने नरम शक्ति सद्भावको भावना विकास गर्ने ठूलो माध्याम बन्न सक्छ ।

हामी हाम्रो कार्यसम्पादनको सिलसिलामा कोठामा सीमित हुनुहुंदैन । कोठामा मात्र बस्दा घेरा सीमित हुन्छ कुनै पनि कार्यालयको प्रमुख अर्थात् हाकिम भनिने व्यक्ति सात ढोका भित्र रहन्छ भन्ने भाव जनतामा कहिल्यै पर्न दिनु हुँदैन । कर्मचारीसंग हरेक समस्याको बनिबनाउ समाधान संभव हुंदैन भन्ने कुरा जनसमुदायलाई राम्रोसंग थाहा छ ।

सेवाग्राह्री जनसमुदायले केवल उनीहरुको गुनासोको सुनुवाई र उनीहरुप्रति सम्मानपूर्ण व्यवहार चाहन्छन् ।उनीहरुको कुरा सही ठाउँमा पुगोस् यत्ति कुराबाट पनि कहिलेकाँही उनीहरु सन्तुष्ट हुन्छन् । हरेक राष्ट्रसेवक कर्मचारीहरुले मन मष्तिष्कमा आज म जे छु यो मलाई मेरो देशले दिएको जिम्मेवारी हो, मेरो समाजले दिएको हो । यो देशका करिब तीन करोड नेपालीले दिएको हो ।

यो देश मेरो हो यो देशका जनता मेरा हुन् । यो सेवामा प्रवेश गरेपश्चात् जुन सुविधा सम्मान मलाई मिलेको छ यसमा नेपालीको पसिनाको गन्ध छ भनेर सोच्नु पर्छ । हामी राष्ट्रसेवकहरु देशका सबै जनसमुदाय र खासगरी गरिब र सीमान्तीकृत जनसमुदाय प्रति ऋणी छौं । उनीहरुको ऋण चुकाउने उपाय भनेको जनसमुदायको जीवन सहज बनाउँ जुन उनीहरुको हक अधिकार पनि हो । त्यसका लागि इमान्दारीतापूर्वक प्रयास गरौं । पूरै प्रयासका साथ महेनत गरौं ।

निजामती कर्मचारीले जनसमुदायबाट पृष्ठपोषण प्राप्त गर्ने दायरालाई विस्तार गरी फराकिलो बनाउनु पर्छ । हामीले लिएको नीति र गर्ने निर्णयलाई लिएर जे पृष्ठपोषण आउँछन् तिनलाई निष्पक्ष भै इमान्दारीपूर्वक मूल्याँकन र लेखाजोखा गर्नुपर्छ ।  हाम्रो आँखा र कानलाई राम्रो लाग्ने कुरा मात्र सुन्ने र देख्ने होइन । । कोठामै मात्र बस्नाले सामान्य समस्याको बारेमा समेत सही र यथार्थ जानकारी हुंदैन । हामी सुविधाजनक क्षेत्रबाट बाहिर निस्कनै पर्छ । जनसमुदायसंग जोडिनु पर्छ । यसबाट सही नीतिगत निर्णयमा मद्धत पुग्दछ ।

 

प्रतिक्रिया