शनिबार, साउन १६, २०७८

कर्द प्रहार गरी हत्या गर्ने पक्राउ

ज्योतिन्यूज २०७७ भदौ २१ गते ९:०४

झापा, २१  भदौ !

शिवसताक्षी नगरपालिका-११ बस्ने २९ वर्षीय गोमन सिंह मगरलाई धारिलो हतियार कर्द प्रहार गरी हत्या गरेको अभियोगमा सोही स्थानका  मन कुमार लिम्बुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

शिवसताक्षी नगरपालिका-११ स्थित सताक्षी धाम जाने भित्री सडक छेउमा घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा बुधबार बिहान गोमन सिंहको शव फेला परेको थियो । घटना पश्चात अनुसन्धानको लागि १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा तथा संघीय प्रहरी ईकाई कार्यालय धरानको केनाईन टोली समेतबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्न लिम्बुलाई पक्राउ गरेको हो ।

लिम्बुले मंगलबार साँझ भेट्न बोलाएर गोमन सिंहले चलाएको प्रदेश ०१-०१०१२ प ५२२५ नम्बरको मोटरसाइकलमा  सताक्षी धाम मन्दिरतर्फ जाऔं भनी गएको र मोटरसाइकल चलाइरहेकै अवस्थामा कर्द प्रयोग गरी गोमन सिंहको घाँटीमा रेटी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै लिम्बुले उक्त मोटरसाइकल पुर्वपट्टी जंगलमा लगेर लडाएको र गोमन सिंहलाई पुन: घाँटीमा पटकपटक कर्द प्रहार गरी नालीमा फालेको तथा गोमनको आईफोन मोबाइल, कर्द र आफ्नो मोबाइल समेत झिलझिलेको खोलामा फालेको अनुसन्धनाको क्रममा खुल्न आएको छ । उक्त सामानहरु प्रहरीले बरामद गरेको छ ।

निजहरुबीच आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाबको कारण घटना भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको तथा लिम्बु उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिक्रिया