शनिबार, मंसिर १८, २०७८

सुन खरिद गर्ने निहुँमा  नगद चोरी गर्ने पक्राउ

ज्योतिन्यूज २०७७ भदौ २२ गते ६:२८

  काठमाडौं, २२  भदौ !

सुन खरिद गर्ने बहानामा नगद १३ लाख ५० हजार रुपैयाँ जबरजस्ती चोरी गरेको अभियोगमा ५ जनालाई शुक्रबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा टोखा नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३२ वर्षीय बिष्णु थापा, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ माकालबारी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भएका २७ वर्षीय मेघ बहादुर तामाङ,  भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका २८ वर्षीय रुगेन लामा (गोले), बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका २३ वर्षीय आकाश स्याङबो र सर्लाही हरिबन नगरपालिका-५ घर भएका २२ वर्षीय बिशाल लामा रहेका छन् ।

बिहीबार बेलुका काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी बस्ने उदयपुर चौदण्डी नगरपालिका-४ घर भएका ३७ वर्षीय निराहाङ राईलाई सुन खरिद गर्ने बहाना बनाई बुढानिलकण्‍ठ नगरपालिका-११ आनीगुम्बा कपनस्थित सडकमा बोलाई अपरिचित ४ जनाले उक्त रकम जबरजस्ती चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ८ लाख ७ हजार रुपैयाँ, बा.२४ प २८६७ र प्रदेश नम्बर ३-०२-०१३ प ३३८० नम्बरको मोटरसाइकल, ४ थान मोबाइल र ५ थान सिम समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रतिक्रिया