सोमबार, असोज ४, २०७८

अब सबै स्थानीय तहले एउटै मोवाइल एप्स

ज्योतिन्यूज २०७७ भदौ २२ गते ११:५०

२२ भदौ, काठमाण्डौ ।
सरकारले सबै स्थानीय तहले एउटै मोवाइल एप्स सञ्चालन गर्नेगरी स्थानीय तहको एप अर्थात् ‘लोकल लेभल मोवाइल एप’ सञ्चालनमा ल्याएको छ । अहिलेसम्म छुट्टा छुट्टै मोवाइल एप सञ्चालन गर्ने चारसय ३३ वटा स्थानीय तहका मोवाइल एपलाई एउटैमा गाभेर सूचना प्रविधि विभागले ‘लोकल लेभल मोवाइल एप’ सञ्चालनमा ल्याएको हो ।

मोवाइल एप सञ्चालनमा नल्याएका बाँकी तीन सय २० स्थानीय तह पनि यसै एपमा जोडिने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ । यस अघि स्थानीय तहमा सञ्चालित मोवाइल एप्सको स्तरोन्नती गर्दै र नयाँ सुविधा थप गरेर लोकल लेभल मोवाइल एप निर्माण गरिएको विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले बताउनुभयो ।

कोभिड १९ को महामारीका बेला सूचना प्रवाह गर्न, स्थानीय तहबाट प्रदान गरिने सेवा वाफतको भूक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने उहाँले बताउनुभयो । सबै स्थानीय तहको फरक पहिचान हुने गरि तयार गरिएको एप एनड्रोइड फोन प्रयोगकर्ताले प्ले स्टोर र आइओएस फोन प्रयोगकर्ताले एप्स स्टोरबाट स्थानीय तहको एप लोकल लेभल नामको डाउनलोड गरेर प्रयोग गर्न सक्ने छन् ।

अहिलेसम्म विभागको खाताबाट प्ले स्टोर र एप्स स्टोरमा स्थानीय तहको छुट्टा छुट्टै नाममा रहेका एप नयाँ एप सञ्चालनमा आएसँगै स्वत सञ्चालनमा नरहेका पनि विभागले स्पष्ट पारेको छ । विभागले निर्माण गरेको एपको तीन दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया