शुक्रबार, वैशाख १०, २०७८

नेपाल सहितका निम्न आय भएका देशहरुलाइ कोरोना भ्याक्सिन किन्न युनिसेफले सहयोग गर्ने

ज्योतिन्यूज २०७७ भदौ २२ गते १३:२३

काठमाण्डौ । नेपाल सहितका निम्न आय भएका देशहरुको निम्ती कोेरोनाभाइरस महामारीको भ्याक्सिन किन्न युनिसेफले सहयोग गर्ने भएको छ । नेपाल सहित ९२ देशहरुले खोप किन्न सहुलियत पाउने भएका हुन् ।

बीबीसीका अनुसार युनिसेफले विभिन्न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहेको समयमा उसले कोभ्याक्स सुविधाको तर्फबाट ती देशहरूका निम्ति खोप खरिद गरी आपूर्ति गर्ने जनाएको छ। यसका साथै उसले ढुवानी, बन्दोबस्ती तथा भण्डारणको काम पनि गरिदिनेछ ।

जसका लागि युनिसेफले विश्व स्वास्थ्य सङ्गठन, खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभी, विश्व ब्याङ्क, पीएएचओ (प्यान अमेरिकी स्वास्थ्य सङ्गठन), बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनलगायतका संस्थासँग सहकार्य गरिरहेको छ ।

कोभिड विरुद्धको खोप प्राप्त गर्नबाट कुनै पनि देश वञ्चित हुनुनपरोस् भनी कोभ्याक्स सुविधा सबै देशहरूका निम्ति खुल्ला गरिएको छ । कोभिड(१९ सम्बन्धी विभिन्न खोप निर्माताहरूले बनाइरहेका विभिन्न खोपको अनुसन्धान, विकास, उत्पादनमा सघाउ पु¥याउन तथा तिनको मूल्य निर्धारण गर्ने विश्वव्यापी मञ्चको रूपमा कोभ्याक्स गठन भएको हो।

यसमा सहभागी सबै देशले खोपको विकास हुनेबित्तिकै त्यसमा समान पहुँच पाउने जनाइएको छ।
कोभ्याक्सको प्रारम्भिक लक्ष्य भनेको सन् २०२१ को अन्त्यसम्ममा खोपका दुई अर्ब डोज (मात्रा) उपलब्ध गराउनु हो। जोखिममा परेका मानिस तथा अग्रपङ्तिमा रहेका स्वास्थ्यकर्मीहरूलाई सुरक्षित पार्न त्यो पर्याप्त हुने उसले बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया