सोमबार, कार्तिक ८, २०७८

नेपाली काँग्रेस गुल्मी – काठमाडौँ सम्पर्क समितिको विवाद चर्किदो

ज्योतिन्यूज २०७७ भदौ २३ गते १८:१२

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिमा देखिएको विवाद निकै चर्किएर गएको छ । सम्पर्क समिति अन्तर्गत गठन गरिएको विपद व्यवस्थापन समिती र नेपाल विद्यार्थी संघ सम्पर्क समितिको विषयलाई लिएर विवाद देखिएको हो ।

विवादित नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिका अध्यक्षले आफ्नो अधिवेशन नगरी बन्द कोठाबाट विधान विपरित कार्यहरू गर्दै अगाडि बढेको भन्दै समितिका बहुमत पदाधिकारीहरुले अध्यक्षलाई स्पष्टीकरण माग गरेका छन् ।

हरेक ३ वर्षमा हुनुपर्ने अधिवेशन ६ वर्षसम्म गर्न नसकेको समितिले उल्टैै एकलौटी रुपमा उप समूह तथा नेविसंघ सम्पर्क समिति गठन गरेको उनीहरुको आरोप छ । यहि बिषयलाई लिएर असन्तुष्ट रहदै आएको बहुमत पदाधिकारी तथा सदस्यहरुले सम्पर्क समितिको खारेज तथा विधान बिपरित भए गरेका कार्यहरू विघटन गरि तत्काल स्वतन्त्र एक अधिवेशन आयोजक समिति गठन गरि तत्काल अधिवेशन गर्न माग गरेका छन् ।

सम्पर्क समितिका अध्यक्ष ज्ञानबहादुर कार्कीले विधान विपरित सम्पर्क समितीमा रहेर कार्य गर्दै आएको उल्लेख गर्दै पदाधिकारीहरु उपाध्यक्ष मिन प्रसाद श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्र के. सी., सचिव गोविन्द गौतम कोषाध्यक्ष शैलेन्द्र कुमार के. सी.द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उक्त पत्रमा भनिएको विषयबस्तु जस्ताको तस्तै

‘प्रस्तुत विषयमा लोकतन्त्र स्थापनाको खातिर त्याग र इतिहास निमार्ण गरेको नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा लामो समय सम्म विभिन्न निकायमा रहेर काम गरिरहनु भएको र पार्टीको शुभेच्छुक संस्थाको नेतृत्व गर्नुभएको तपाईलाई नेपाली काँग्रेस गुल्मी–काठमाडौ सम्पर्क समितिको विधान अथवा विनियम वारे स्मरण गराउन खोज्नु आफैमा दुखदायी र पिडादायी कुरा हो । तर पनि तपाईको नेतृत्वमा भएका केही अवान्छनिय,अवैधानिक,गैर प्रजातान्त्रिक र निरकुशंतावादी शैलीप्रति हाम्रो घोर आपत्ति र असहमति छ । हामी यस सम्पर्क समितिका बहुमत पदाधिकारीहरु सम्पर्क समितिको विषयमा उठेका केही प्रश्नहरुका वारेमा ध्यानाकर्षण गराउन चाहान्छौ ।

वर्तमान समयमा मुलुक कोरोना महामारीले त्रस्त बनेको समयमा तपाईकै सल्लाहमा समितिले राहत वितरण गर्न शुरु गरेको थियो तर हठात केही व्यक्तिवादी सोचको पराकाष्ठा स्वरुप कुनै सल्लाह र छलफल विना समितिले गरेको कामलाई नै ओझेलमा पार्नेगरी एकल मनोनयन गरेता पनि अहिलको विषम परिस्थितिलाई मध्यनजर गदै आएका थियौ ।

मानवताको पवित्र धर्मलाई रक्षाकवच वनाएर त्यसभित्र तपाईले खेलेको शिखण्डी चरित्रको हामी घोर भत्र्सना गर्दछौ । तपाईको त्यो कदमको सभ्य तरिकाले प्रतिवाद गरिरहँदा मानवीय संकट कायम रहिरहेकै बेला पुनः नेवि संघ सम्पर्क समितिको अध्यारो कोठावाट गरिएको मनोनयन र विस्तारले तपाई गैर जिम्मेवार र एकल मनोमानीमा चल्ने अधिनायकवादी भएको प्रष्ट भएको छ ।

नेपाली काँग्रेस गुल्मी–काठमाडौ सम्पर्क समितिको विधान २०७१ मा कार्यसमितिको कार्यकाल ३ वर्ष रहने स्पष्ट व्यवस्था हुदाँहुदै कार्यकाल सकिएको ३ वर्ष पछि पनि समितिको अधिवेशन गराउने तर्फ नलागि पटक–पटक विधान विपरितका कार्यहरु भईरहँदा हामीलाई गम्भीर बनाएको छ ।

समिति भित्रका सवैखाले अवैधानिक कार्यहरु तत्काल खारेज गरी सम्पर्क समितिको अधिवेशनको वातावरण निमार्ण गर्न हामी जोडदार माग गर्दछौ । यदि हाम्रो शालिन र प्रजातान्त्रिक आवाजलाई वेवास्था गरे हामी पदाधिकारीहरु तथा सदस्यहरुले आगामी दिनमा थप राजनैतिक कदम चाल्न वाध्य हुनेछौ ।’

उक्त पत्रमा असन्तुष्ट पदाधिकारीको यो समुहले बोधार्थका रुपमा आफनो ध्यानाकर्षण पत्र नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मी ,केन्द्रिय सदस्य डा.चन्द्र भण्डारी, माननीय श्रीमती सुर्वण ज्वारचन, पुर्व माननीय झक बहादुर पुन, डा. कृष्ण बहादुर छन्त्याल, पूर्व पार्टी सभापति त्रैलोक्य प्रताप सेन, चन्द्र बहादुर के सी, राजेन्द्र पन्त र सुरेशचन्द्र भुषाललाई पनि दिएको छ ।

प्रतिक्रिया