बुधबार, असार ९, २०७८

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

ज्योतिन्यूज २०७७ भदौ २३ गते १८:४८

काठमाडौं, २३ भदौ
तनहुँको रिसिङ गाउँपालिका – १ देउलिखोलास्थित सडकमा ग।१ ज ७१२८ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ७० फिट तल खसेर सोमबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिप चालक म्याग्दे गाउँपालिका – ७ बस्ने ३२ वर्षीय होम बहादुर श्रेष्ठ र ब्यास नगरपालिका -५ बस्ने ५५ वर्षीय राज कुमार श्रेष्ठ रहेका छन् ।

चालक होमको जिपभित्र च्यापिएको अवस्थामा शव फेला परेको हो भने दुर्घटनामा घाइते भएका राजकुमारको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ७ जनामध्ये उपचारपश्चात १ जना डिस्चार्ज भएका छन् भने ५ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।

यस्तै डडेलधुराको भागेश्वर गाउँपालिका – ४ धिमलास्थित सडकमा लु।अ अ सा ७०९ अस्थाई नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार कैलाली कैलारी गाउँपालिका – २ बस्ने २० वर्षीय रञ्जित चौधरीको सोमबार राति मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पताल हुँदै थप उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया