शुक्रबार, वैशाख ३१, २०७८

एसिड आक्रमण गर्ने ब्यक्तिलाइ कडा कारवाही गर्नेगरी कानुन बनाइदै

ज्योतिन्यूज २०७७ भदौ २५ गते १५:५९

काठमाडौ १५ भदौ । एसिड आक्रमण गर्नेलाई कारबाही गर्न सरकारले कडा कानून ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही गर्ने गरी अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताउनुभएको हो । अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने बताउनुभयो । यसका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न प्रधानमन्त्रीले कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।

प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा १२ जना एसिड पीडितसँग भेट गर्नुभएको थियो । त्यस क्रममा गृहमन्त्री, कानुनमन्त्री, गृह, अर्थ र शिक्षा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसमेत सहभागी थिए । उनले एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा गर्ने बताउनुभयो । एसिड आक्रमणमा परेकाहरूले पढ्न चाहेमा सरकारले निशुल्क पढ्ने व्यवस्था मिलाउने प्रधानमन्त्रीले बताउनुभएको छ । नेपालमा एसिड आक्रमणका १७ घटनामा १९ जना पीडित छन्।

प्रतिक्रिया