शनिबार, फागुन १५, २०७७

अज्ञात रोगले धमाधम बाख्रा मर्न थाले

ज्योतिन्यूज २०७७ भदौ २९ गते १९:०५

भदौ २९,खोटाङ – अज्ञात रोगले खोर नै रित्तिनेगरी बाख्रा मर्न थालेपछि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका किसान चिन्तामा परेका छन् । लक्षण देखिएर बिरामी भएको ४÷५ दिनभित्र खसीबाख्रा मर्ने समस्या फैलिएपछि याम्खाका किसान चिन्तित भएका हुन् ।

कतिपय फर्म खोलेर व्यावसायिक रुपमा पालिएका बाख्रा खोर नै रित्तो हुनेगरी मर्न थालेपछि लाखौँ रुपैयाँ नोक्सान भइरहेको किसानको गुनासो छ । याम्खामा सुनगाभा कृषि तथा बाख्रा फर्म खोलेर व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसान दिपेन्द्र श्रेष्ठको २४ वटामध्ये २१ वटा बाख्रा मरिसकेका छन् ।

चितवनबाट खरिद गरेर ल्याएको बोयर जातको बोकासहित स्थानीय जातको बाख्रा मर्दा खोर नै रित्तिएको श्रेष्ठले बताउभयो । गत असार यता याम्खामा मात्र सय वटाभन्दा बढी बाख्रा मरिसकेको वडा कार्यालयले जनाएको छ । हालसम्म बाख्रामा लागेको रोगको पहिचान भएको छैन । गाउँपालिकामा एग्रोभेट एवं आवश्यक भेटेरिनरी कर्मचारी र औषधिको व्यवस्था नभएकाले बाख्रा मर्ने समस्याले महामारीको रुप लिएको हो । सुरुमा घाँस खाँदाखाँदै छेर्ने, झोक्राउने जस्ता लक्षण देखिने र बिरामी भएको कम्तीमा ४ दिनदेखि ५ दिनभित्र बाख्रा मर्ने गरेको स्थानीयले बताएका छन् ।

यसैबीच महुरे–बुइपा–राजापानी खण्डमा ४ वर्ष बितिसक्दा पनि कालोपत्रको काम सम्पन्न हुन सकेको छैन । २०७७ साउन ११ गते निर्माण सम्पन्न गर्नुपर्नेमा हाल उक्त सडक कालोपत्रको काम ४० प्रतिशत मात्र सम्पन्न भएको हो । ४ वर्षअघि कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडक समयमा सम्पन्न नहुँदा अहिले पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया