शनिबार, असोज ९, २०७८

सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सको आईपीएलमा विजयी सुरूवात

ज्योतिन्यूज २०७७ असोज ५ गते ७:२२

५ आश्विन, काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स ले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा विजयी सुरूवात गरेको छ ।

आइतबार राति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हराएको छ । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनाएको खेलमा केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै विकेट कागिसो राबाडाले लिए ।

तीन रनको लक्ष्य दिल्लीले तीन बलमा पूरा गर्यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए । ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट हात पारे ।

प्रतिक्रिया