मंगलबार, मंसिर २१, २०७८

स्याङ्गजा: पहिरोमा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

ज्योतिन्यूज २०७७ असोज ८ गते ८:३८

वालिङ, ८ असोज  ।
पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ । अन्य चार जना अझै बेपत्ता छन् ।
एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

विर्घामा एकको मृत्यु

यसैगरी लगातारको वर्षाले गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ । तीन दिनदेखिको वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताउनुभयो ।
वडा अध्यक्ष पाण्डेका अनुसार गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो । स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्ण नेपालीको शव निकालिएको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । पहिरोमा पुरिएर एकको मृत्यु भए पनि अन्य भने सकुसल रहेका बताईएको छ ।रासस

प्रतिक्रिया