सोमबार, फागुन १७, २०७७

कोरोनाबाट विश्वभर तीन करोड २१ लाख संक्रमित, निधन झण्डै १० लाख

ज्योतिन्यूज २०७७ असोज ८ गते १४:३२

पेरिस, ८ असोज  ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८२ हजार पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड २१ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ३६ लाख निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय संक्रमित छन् ।

विश्वभर अझै पनि ६२ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७१ लाख नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ६ हजारको मृत्यु भएको छ ।

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५७ लाख संक्रमित भएका छन् भने यहाँ ९१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४६ लाख व्यक्ति संक्रमित भएकामा एक लाख ३९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि १९ हजार ९४८ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । रासस/एएफपी

भारतमा कोरोना संक्रमित ५७ लाख, ९१ हजार १४९ को मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा एक हजार १२९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९१ हजार १४९ जना पुगेको छ ।
भारतमा हाल ९ लाख ६६ हजार सक्रिय संक्रमित छन् भने ४६ लाख ७४ हजार ९८८ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
भारतीय राज्य महाराष्ट्र सबैभन्दा प्रभावित रहेको छ । त्यहाँ हालसम्म २ लाख ७४ हजार सक्रिय संक्रमित छन् भने ९ लाख ५७ हजार निको भएकार छन् । यहाँ ३३ हजार ८८६ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।
कर्नाटका राज्यमा हाल करिब ९५ हजार व्यक्ति सक्रिय संक्रमित छन् भने ४ लाख ३८ हजार निको भएर डिस्चार्ज भइसकेका छन् । यहाँ ८ हजार २६६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अर्कोतर्फ आन्ध्र प्रदेश तेस्रो सर्वाधिक प्रभावित राज्य बनेको छ । यहाँ हाल ७० हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् भने ५ हजार ५०७ जनाको मृत्यु भइसकेको छ । राज्यमा ५ लाख ७० हजार मानिस निको भएर घर फर्किएका छन् ।
यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषद (आइसिएमआर) ले सेप्टेम्बर २३ तारिखसम्म कूल ६ करोड ७४ लाख ३६ हजारको परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा मात्र ११ लाख ५६ हजारको स्वास्थ्य परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमितहरुको निको हुने दर पाँचौं दिनसम्म लगातार वृद्धि भइरहेको छ ।

प्रतिक्रिया