मंगलबार, असार ८, २०७८

लगातारको वर्षाले  सडक अवरुद्ध तरकारी खेती सखाप

ज्योतिन्यूज २०७७ असोज ८ गते १४:५१

महोत्तरी, ८ असोज ।
लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उमँ्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो ।अहिले बारीमा भर्खरै रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरू तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोत्तर बनाएको छ । घिरौँला, झिँगनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहितका लहरे तरकारीका बेला पनि लगातारको पानीले गलाएर पहेँलिएका छन् । भदौ निगल्दोको वर्षा र अहिले लगातार तीन दिनदेखि परिरहेको पानीले यसपालि हिउँदे तरकारी खेतीबाट हात धुने अवस्था बनेको किसानको दुखेसो छ ।“तरकारीका बेला पानीले गलाएर पहेँलिएका छन्, नयाँ रोपिएका बेर्ना चोटिलो पानीले सोत्तर बनाएर लडाएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतो भन्नुहुन्छ, “खेतबारी गिलिएर जोतखन र गोडमेल गर्न नसकिने भएको छ, चाँडै उत्पादन लिने आलु पनि अब रोप्न पाइने आस मर्यो ।”लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनेसँगै बजारमा तरकारीको मूल्य आकाशिएको छ । किसानका खेतबारीमा तरकारी नभएपछि बजार उपभोक्ता पनि महँगाइको मारमा परेका छन् । महोत्तरीका १५ स्थानीय तहका कार्यालयको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आएको देखिन्छ ।लगातारको वर्षाले जिल्लाका ग्रामीण सडकमात्र नभएर मुख्य सडक नै हिलाम्य भएका छन् । पछिल्लो तीन दिनको वर्षाले जिल्लामा सडक स्तरोन्नति र सम्भारका भइरहेका काम पनि रोकिएको छ । बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–मनरा–जलेश्वर, सम्सी–लोहारपट्टी–जनकपुर र जलेश्वर–रौजा–बर्दिवास सडकमा हिलो जमेर साना सवारी साधन पनि चल्न सकेका छैनन् ।तरकारी बाली र सडक यातायातमा असजिलो बढे पनि पछिल्लो वर्षाले पोटाउन लागेको धानबालीलाई भने अमृतकै काम गरेको किसान बताउँछन् । जिल्लामा यसपटक ४० हजार हेक्टर क्षेत्रफलमा हिउँदे धान खेती गरिएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ ।

वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध

अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ ।
विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो । अहिले सडक खुलाउने काम भइरहेको छ ।
त्यसैगरी रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डअन्र्तगत सत्यवती गाउँपालिका–४ नादेवा, वडा नं ५ बाँदरेभीर र वडा नं. ६ डहरेलगायत स्थानमा पहिरो खसेपछि आज बिहानदेखि सो सडक अवरुद्ध बनेको छ । यस्तै रिडी–खज्र्याङ्ग र तम्घास–इन्द्रेगौंडा सडक पनि बिहानैदेखि अवरुद्ध बनेको छ । रिडी–खज्र्याङ्ग सडक खण्डअन्र्तगत मनबाग र मुसिकोट नगरपालीका– ३ स्थित भन्ज्याङ्गमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । पानी परिरहेका कारण पहिरो हटाउन समस्या भइरहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।
सडक अवरुद्ध बनेपछि गुल्मीदेखि पाल्पा–बुटवल आवतजावत गर्ने यात्रु थप समस्यामा परेका छन् । लगातारको वर्षाका कारण गुल्मीका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया