शनिबार, फागुन २२, २०७७

बलात्कारी दुई जनाको जेल यात्रा

ज्योतिन्यूज २०७७ असोज ८ गते १९:५५

भरतपुर, ८ असोज ।
एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा जिल्ला अदालत चितवनले आठ वर्ष कैद सजायको फैसला गरेको छ । आरोपित भरतपुर महानगरपालिका –११ का १९ वर्षीय कविन परियारलाई न्यायाधीश केशव अधिकारीको इजलासले सो फैसला गरेको हो ।
धादिङ जिल्ला नीलकण्ठ गाउँपालिका –५ घर भई नवलपुर, गैँडाकोट आफन्तकहाँ जाने क्रममा अटो रिक्सा चढाई चालक परियारले भरतपुर –१२ स्थित जंगलमा लगी बलात्कार गरेको भन्दै पीडितले गत मंसिर २ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजूरी दिएकी थिइन् । उजूरीलगत्तै आरोपित परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
यस्तै ३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा  अदालतले भरतपुर महानगरपालिका– ९ शरदपुर घर भएका ३३ वर्षीय दीपक सापकोटालाई चारवर्ष कैद सजायको फैसला सुनाएको छ ।
स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका –१२ घर भएकी महिलालाई गत जेठ २३ गते शरदपुर घर भएका सापकोटाले आफ्नै घरको कोठामा बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया