मंगलबार, असार ८, २०७८

नेपालमा ह्यान्ड स्यानिटाइजर बेच्न प्रतिबन्ध, नौ कम्पनी कारवाहीमा (सूची सहित)

ज्योतिन्यूज २०७७ असोज ११ गते २१:०७

काठमाडौँ, ११ असोज ।

औषधी व्यवस्था विभागले नेपालमा विक्री वितरणमा रहेका ९ प्रकारका ह्यान्ड स्यानिटाइजरको प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । बजार अनुगमनको क्रममा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालका रसायनहरु प्रयोग गरी बनाइएका सेनिटाइजर छ्यापछ्याप्ती पाइएकोले विभागले कारवाही प्रक्रिया शुरु गरेको हो ।

इन्सटान्ट हेन्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६ बमोजिमकोे मापदण्ड पूरा नगरेका ९ प्रकारका उत्पादनहरुलाई विक्री तथा प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

कुन कुन उत्पादन प्रयोगमा प्रतिबन्ध ?

६२ प्रतिशत मिथानोल मिसिएको कारण शिविका कस्मेसेउटिकल्स उत्तरखण्ड भारतले उत्पादन गर्ने हर्वलट्री ह्यान्ड रबलाई प्रतिबन्द लगाइएको छ ।

त्यसैगरी केमिकल एन्ड प्याकेजिङ्ग इन्डष्ट्री पर्साले उत्पादन गरेको केयुएम ह्यान्ड स्यानिटाइजर,क्लिन ह्यान्ड स्यानिटाइजर, कुमकुम हर्वल उद्योग बनेपाले उत्पादन गरेको कुमकुम इन्सटान्ट सेनिटाइजर, र इन्सटान्ट ह्यान्ड सेनिटाइजर, ओम आरोग्य हेल्थकेयर ललितपुरले उत्पादन गरेको इन्सटान्ट हेन्ड सेनिटाइजर, साधना सप्लायर्स काठमाडौ्ले बिक्री गर्ने साधना इन्सटान्ट हेन्ड सेनिटाइजर कालिका सोप एन्ड केमिकल्स काठमाडौँले बिक्री गर्ने दुई प्रकारका ड्रोेन हेन्ड स्यानिटाइजरलाई बिक्री तथा प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएकोे हो ।

यी अधिकाशं स्यानिटाइजरहरुमा मिथानोल, आइसोप्रोपेल, इथानोल लगायतका तत्वहरुको अधिक प्रयोग भएको पाइएको छ । जसले गर्दा सेनिटाइजरले काम नगर्ने भएको कारण प्रतिबन्ध लगाई कारवाही शुरु गरिएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताउनुभयो ।

“मिथानोल भनेको विषाक्त रसायन हो, जसले मानिसका स्नायु प्रणालीलाई असर गर्ने मात्र होइन, व्यक्तिको ज्यान नै जान सक्छ” उनले भने, “त्यसैले यस प्रकारका सेनिटाइजरहरु कसैले विक्री नगर्न र उपभोक्ताले पनि खरिद गर्ने क्रममा विशेष ध्यान दिन आग्रह गर्दछौँ।”

विभागले बजारमा विक्रीवितरणमा रहेका यसप्रकारका हेन्ड सेनिटाइजरहरुको राष्ट्रिय औषधी प्रयोगशालामा परिक्षण गरेको थियो । उक्त परिक्षणको क्रममा यस प्रकारको गल्ती भेटिएको हो ।

महानिर्देशक ढकालले यस अघि मापदण्ड पूरा नगरेका ९ प्रकारका स्यानिटाइजरहरुको विक्री तथा प्रयोगमा पूर्णत बन्देज लगाइएको भन्दै अझै पनि परिक्षणको क्रम जारी रहेकोबताउनुभयो  ।

परिक्षणको क्रममा अन्य उत्पादनमा पनि यस प्रकारका अपराध भएको भेटिन सक्ने भन्दै उनले यसरी उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने उद्योग तथा वितरकहरुमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको र कारवाहीको दायरामा ल्याइने समेत जानकारी दिनुभयो  ।

गुणस्तीय स्यानिटाइजरमा इथाइल अल्कोहल ८० प्रतिशतसम्म प्रयोग गर्न सक्ने मापदण्ड रहेको उहाँले बताउनु भयो  ।

 प्रतिबन्धित  सेनिटाइजरको बिवरण


प्रतिक्रिया