शुक्रबार, असार ११, २०७८

हजुरबुवादेखि छिमेकीसम्म बलात्कारमा संलग्न

ज्योतिन्यूज २०७७ असोज १३ गते ८:५७

१३ असोज, काठमाडौं । बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले हजुरबुवादेखि बुवा, झट्केलो बुवा, ससुरा, काका-मामा-ठूलोबुवा, चिनजानका व्यक्ति र छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र अपरिचित व्यक्तिबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो ।

आर्थिक वर्ष २०७६-७७ को तथ्यांकअनुसार सो आर्थिक वर्षमा देशभर २ हजार ४ सय ४९ वटा घटना भएकामा चिनेजानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी बलात्कारका घटना भएको छ ।

गत आर्थिक वर्षमै घरमालिकबाट ३, केटासाथीबाट ९३, भिनाजुबाट ५, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमान्बाट २८, नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ र नखुलेका व्यक्तिबाट ५ वटा घटना भएका छन्

यसैगरी, छिमेकीबाट सो आर्थिक वर्षमा ६ सय ७२ र नचिनेका व्यक्तिबाट ४ सय ९७ वटा बलात्कारका घटना भएका छन् ।
यसैगरी, हजुरबुवाबाट ६, बुवा-झट्केलो बुवाबाट ४७, ससुराबाट ८, आमा-छोराबीच ३, काका-मामा-ठूलो बुवाबाट ४१, दाजुभाइ-काका, ठूलोबुवा र मामाका छोराबाट ३२, देवर-जेठाजुबाट १३ तथा श्रीमान्बाटै २६ वटा बलात्कारका घटना भएको तथ्यांकले देखाउँछ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट घटना भएको पाइएको बताउनुभयो ।

‘आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट घटना भएको देखिन्छ,’ प्रहरी प्रवक्ता कडायतले राजधानीसँग भन्नुभयो।

उहाँका अनुसार पटक पटकको आजित व्यवहार, गर्भ रहने वा रहेको अवस्था र सम्बन्धमा इगो अथवा द्वन्द्वका घटना हुँदा बलात्कार तथा जबर्जस्ती करणीका घटना बाहिर आउने गरेका छन् ।

प्रहरी तथ्यांकअनुसार गत आर्थिक वर्षमै घरमालिकबाट ३, केटासाथीबाट ९३, भिनाजुबाट ५, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमान्बाट २८, नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ र नखुलेका व्यक्तिबाट ५ वटा घटना भएका छन् ।

तथ्यांकले सो आर्थिक वर्षमा सबैभन्दा बढी बलात्कारका घटना प्रदेश १ मा भएको देखाएको छ । जसअनुसार प्रदेश १ मा ५ सय ४२ घटना भएका छन् ।

यसैगरी प्रदेश २ मा ३ सय ४२, बाग्मती प्रदेशमा २ सय ८४, गण्डकी प्रदेशमा १ सय ७३, प्रदेश ५ मा ३ सय ९९, कर्णाली प्रदेशमा १ सय ७७, सुदूरपश्चिम प्रदेशमा २ सय ३६ र उपत्यकामा २ सय ९६ वटा घटना भएको तथ्यांक देखाउँछ । आजको राजधानीले समाचार छापेको छ ।

प्रतिक्रिया