सोमबार, फागुन १७, २०७७

मुटु स्वस्थ राख्न सिकाउने कृति

ज्योतिन्यूज २०७७ असोज १३ गते २१:५१

काठमाडौँ, १३ असोज  ।
आज विश्व मुटु दिवसका अवसरमा ‘टन्सिलले बिगारेको मुटु’ कृति सार्वजनिक गरिएको छ । कृतिमा समाजका अपहेलित र छायामा परेका विपन्न वर्गका बालबालिकाको मुद्दालाई उठाउने प्रयास गर्नुभएको छ । बाथ–मुटु रोगीका विविध पक्षलाई रसिलो र सरल भाषामा उहाँले प्रस्तुत गर्नुभएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठानबाट प्रकाशित र डा. प्रकाशराज रेग्मीद्वारा लिखित उक्त पुस्तकको शताब्दी पुरूष सत्यमोहन जोशीले आज सार्वजनिक गर्दै पुस्तकमा रहेका कुराले मानिसलाई मुटु स्वस्थ राख्न सिकाउने बताउनुभयो । यसमा नेपाली समाजको चित्रण गर्दै मुटु रोगीको वेदनाका साथ सङ्घर्षको कथासमेत समेटिएको उहाँले बताउनुभयो ।
नेपालमा वर्षेनी एक हजार बालबालिकाको मृत्यु हुनाका साथै वार्षिक आठ सय जनाको मुटुको भल्भ फेर्ने जस्तो महंँगो र जटिल शल्यक्रिया हुने गरेको छ । पुस्तकमा सामान्य जस्तो देखिने टन्सिलले कसरी मुटुलाई क्षतिग्रस्त पार्छ र भयङ्कर रूप धारण गर्न पुग्छ, अनि यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे सबैलाई बुझाउने प्रयास गरिएको लेखक डा रेग्मीले जानकारी दिनुभयो ।
केटाकेटी उमेरमा घाँटी सबैको दुख्छ, टन्सिल सबैको बढ्छ । नुनपानी र बेसार पानी पिएर धेरैले यसको उपचार गर्छन् । यही गलत घरेलु उपचारशैलीका कारण आज लाखौंँ बालबालिका बाथ–मुटुरोग जस्तो भयङ्कर समस्याबाट पीडित हुन पुगेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार वर्षेनी विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सख्या दुई करोड ७५ लाख छ । नेपालमा ७५ लाख मुटुरोगी रहेको अनुमान छ ।
रोगबारे जनचेतना जगाउन सके वर्षेनी हजाराँैं बालबालिकाको ज्यान बचाउन सकिने र हजारौंँ युवालाई अशक्त जीवनबाट सक्रिय जीवनमा फर्काउन सकिने डा रेग्मी बताउनुहुन्छ ।

प्रतिक्रिया