सोमबार, साउन १८, २०७८

बाल पुस्तकालय र अध्ययन संस्कृतिको विकास

ज्योतिन्यूज २०७७ असोज १४ गते ८:४९

विष्णु प्रसाद अर्याल
सुनिता राई
परिभाषा

पुस्तकालय भन्नाले पुस्तकहरु राखिएको घर अथवा ज्ञानमूलक सामग्रीहरुको संग्रह भएको ठाउँ भन्ने बुझिन्छ, जहाँबाट पाठकहरुले आफुले खोजेको÷चाहेको सुचनाहरु सजिलै प्राप्तगर्न सक्दछन् । पुस्तकालयको मुख्य उद्देश्यनै धेरै भन्दा धेरै मात्रामा सुचनाको प्रसार गर्नुका साथै सुचना प्राप्त गर्न पाठकहरुलाई सहयोग गर्नु रहेको हुन्छ । पुस्तकालयहरु विभिन्न किसिमका हुन्छन् र तिनीहरुको आ–आफ्नै उद्देश्य रहेको हुन्छ । पुस्तकालयहरुमध्ये बाल पुस्तकालयलाई महत्वपूर्ण पुस्तकालय मानिन्छ ।
बालबालिकाको लागि खोलिएको पुस्तकालयलाई बाल पुस्तकालय भनिन्छ । बालबालिकालाई सूचना उपलब्ध गराउन यस्ता पुस्तकालय स्थापना गरिएको हुन्छ । बाल पुस्तकालय बालबालिका केन्द्रित पुस्तकालय हो, जहाँ संग्रहहरु पनि बालबालिका केन्द्रित र बालबिकासमा सहयोग गर्ने किसिमका हुन्छन् । ‘बाल पुस्तकालय त्यस्तो पुस्तकालय हो जसले बालबालिकाहरुको रुचि र आवश्यकताअनुसार विभिन्न ज्ञानका सामग्रीहरु, खेलौनाहरु र सेवाहरु उपलब्ध गराएर उनिहरुको सुन्दर भविष्य निर्माण गर्ने सुअवसर दिन्छ ।
उद्देश्य
“बालबालिकाहरुमा सानैदेखि पाठ्यपुस्तकका अतिरिक्त भिन्न भिन्न विषयका विभिन्न पुस्तकहरु पढ्ने बानी बसाल्न आवश्यक हुन्छ । यसो गरेको खण्डमा बालबालिकाहरुको सामाजिक, शैक्षिक, बौद्धिक, मानसिक, संवेदनात्मक विकास राम्रोसित हुन पाउँछ । उनीहरुको दिमाग संवेदनशील, कल्पनाशील र सृजनशील हुन्छ र उनीहरुमा प्रतिभा प्रस्फुटन हुन्छ ।” । सो उद्देश्य पूर्तिको लागि पुस्तकहरु उपलब्ध गराउने कार्य बाल पुस्तकालयले गर्दछ । बाल पुस्तकालयको उद्देश्यहरुलाई देहाय बमोजिम सूचीबद्ध गर्न सकिन्छ ।
– बालबालिकाहरुको पढ्ने बानीको विकास गराउनु ।
– उनीहरुको फुर्सदको समय सदुपयोग गर्नु ।
– बालबालिकाहरुलाई सिर्जनात्मक बनाउनु ।
– उनीहरुको असल चरित्र निर्माणमा सहयोग पुर्याउनु ।
– एक–अर्कोको धर्म, संस्कूति, रहनसहन र व्यवहारहरुको सम्मान गर्न सिकाउनु ।
सामग्री
कथाका किताबहरु, श्रव्य–दृश्य किताब, भिडियो गेम, पजलबक्स, चित्रकला, भकुण्डो इत्यादि । “बाल पुस्तकालयले ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाहरुलाई शैक्षिक, मनोरञ्जनात्मक र सांस्कृतिक स्रोतहरु उपलब्ध गराउँछ । यसमा विभिन्न भाषा र विषयका चित्र भएका किताब, कथाका किताब, गैर आख्यान र श्रव्यदृष्य सामग्रीहरु पर्दछन् ।” -Children library, 2019);यसमा विद्यार्थीलाई सहयोग गर्ने किसिमका पाठ्यसामाग्रीका साथै मनोरञ्जनात्मक खेलकुद सामग्रीहरु पनि राखिएको हुन्छ । जस्तै
यस्तै विभिन्न खेलकुद सामाग्रीहरु साथै आकर्षक पाठ्यसामग्रीका कारण बालबालिकाहरु पुस्तकालय आउन लालयित हुन्छन् । बालबालिकाहरुले पुस्तकालयलाई पढ्ने ठाउँ मात्र नभई रमाइलो गर्ने, खेल्ने ठाउँ हो भन्ने बुझ्दछन् । त्यसले बालबालिकाहरुलाई पुस्तकालय आउन अभिप्रेरित गर्छ ।
बाल पुस्तकालय व्यवस्थापन
बाल पुस्तकालयमा ज्ञान सामाग्री/संग्रहहरु बालबालिका केन्द्रित हुन्छ । साथै ज्ञान सामग्रीहरुलाई पनि बालबालिकाहरुलाई मध्यनजर गरेर मिलाएर राखिएको हुन्छ । पुस्तकालयका पाठ्यसामग्रीहरु, खेलकुद सामग्रीहरु बालबालिकाहरुले भेट्ने ठाउँमा स–साना र्याकमा मिलाएर आकर्षक ढङ्गले राखिएको हुन्छ । पुस्तकहरु पनि रङ, आकार अनुसार मिलाएर र्याकमा राखिएको हुन्छ, जसले विद्यार्थी/बालबालिकाहरु आकर्षित भएर उत्सुकताका साथ पुस्तक पढ्न लालयित होउन् । पुस्तकहरु, खेल सामाग्रीहरु बालबालिका आफैले झिक्न र राख्न सक्ने ठाउँमा हुनुपर्दछ । पुस्तकालय भवन पनि बालमैत्री हुनु पर्दछ ।
स्रोतको व्यवस्थापन
बालबालिकाहरु नियमित पुस्तकालय आइरहदा अभिभावकहरुले आफ्ना नानीबाबुहरुको लागि अतिरिक्त अध्ययन सामग्रीहरु, खेलकुदका सामग्रीहरुमा गरिने खर्चमा पनि कम गर्न सक्दछन् । बालबालिकाहरुको कुनै अध्ययन सामाग्रीहरु, खेलौनाहरु तुलनात्मक रुपमा केही महंगो हुने हुँदा अभिभावकहरुले आफ्ना नानिबाबुहरुको लागि ती सामाग्रीहरु उपलब्ध गराउन गाह्रो हुनसक्दछ । यस्तो अवस्थामा बाल पुस्तकालय उपयुक्त विकल्प हुन सक्छ । जहाँ बालबालिकाहरु आफूले पढ्न चाहेको पुस्तकहरु , खेलकुद सामग्रीहरु सजिलै प्राप्त गर्दछन् । जसलेगर्दा बालबालिकाहरुको फुर्सदको समय राम्रो सदुपयोग हुनका साथै पुस्तकालयप्रति सकारात्मक दृष्टिकोण रहन्छ ।
अध्ययन संस्कृतिको विकास

बालबालिकाहरु पुस्तकालय आइ रहँदा रमाइलो वातावरणमा खेल्ने, पुस्तकालयमा भएका ज्ञान सामाग्रीहरुको अवलोकन गर्ने मौका पाउँछन् र बालबालिकाहरुमा उत्सुकता जाग्दछ । यो किताबभित्र के–के लेखिएको होला, कति राम्रा–राम्रा कविता, कथाहरु होलान् यस्तै जिज्ञासा लिदै किताबहरु हेर्ने, पढ्ने गर्दछन् । यसरी बालबालिकाहरुमा पढ्ने बानिको पनिविकास भइरहेको हुन्छ । बाल पुस्तकालयको मुख्य उदेश्य नै बालबालिकाहरुलाई पढाईलाई रमाइलो मानेर पढ्न अभिप्रेरित गर्नु, अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउनु साथै सिर्जनात्मक बनाउनु नै हो । “जव बालबालिकाहरु आफै खोज्न शुरु गर्दछन्, तिनीहरु सबै कुराको लागि जिज्ञासु हुन थाल्दछन्, चाहे त्यो माइक्रोस्कोप भित्रको सानो जिवाणुदेखि ब्रम्हाण्ड र धेरै वर्ष अगाडिको डाइनोसर किन नहोस् । पुस्तकालय सबै सूचनाको स्रोतको रुपमारहेको हुन्छ ।”
हाम्रो देशमा पठन सँस्कृतिको राम्रो विकास भएको मानिदैन । त्यसैले पठन सँस्कृतिको विकास गर्न बाल पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । जो व्यक्ति सानोबाट जे कुरा गर्दे, सिक्दै आइरहेको छ, त्यही कुराहरुमै उसको रुचि हुन्छ । सानैबाट धेरै नपढ्ने बानी भएकाहरुलाई पछि ठूलो भएपछि धेरै समय पढ्न गाह्रो हुन्छ, त्यसैले जे कुरामा मानिसको आदत हुन्छ, त्यही कार्यहरु गर्ने हुँदा बालबालिकाहरुलाई सानैबाट पुस्तकालय जाने, पढ्ने बानी भएमा आउने दिनहरुमा त्यस्ता कार्यहरु निरन्तर गरिरहने हुँदा बालबालिकाहरुले ज्ञान सामाग्रीहरु खोजी–खोजी पढ्छन् । जसलेगर्दा बालबालिकाहरुको व्यक्तित्व विकासमा पनि मद्धत पुग्दछ । प्रत्येक व्यक्तिको राम्रो व्यक्तित्व विकास हुनु देश, समाजको लगि नि फाइदाको कुरा हो ।
सांस्कृतिक अन्तरघुलन
नियमित पुस्तकालय जाने बालबालिकाले पुस्तकालयमा विभिन्न व्यक्तिहरु भेटिरहेका हुन्छन् । यसले समाजमा घुलमिल हुन सहयोग गर्ने गर्दछ । पुस्तकालयमा विभिन्न समुदायका बालबालिकाहरु आउने हुँदा उनीहरुले एक–अर्काको कला–संस्कृति बुझ्न सक्छन्, एक–अर्कासँग घुलमिल/समायोजन हुन पनि सिक्दछन् । यसले पनि बालबालिकाहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।
जीवनपर्यन्त शिक्षाको आधार
‘बाल पुस्तकालय मानिसको जीवनपर्यन्त शिक्षा र ज्ञान हासिल गर्ने पहिलो खुड्किलो र प्रमुख प्रवेशद्रार हो ।’ आजका बालबालिकाहरु नै भोलिका युवा जनशक्ति हुन्, जसको समाज परिवर्तनमा विशेष योगदान हुने गर्दछ । बालबालिकाहरु भनेको एउटा कच्चा माटो हो, जसलाई हामी जस्तो रुपमा चाहन्छौं त्यस्तै रुपमा परिणत वा प्रस्तुत गर्न सक्दछौं । त्यसैले आफ्नो बालबालिकाहरुलाई कस्तो बनाउने भन्ने जिम्मा अभिभावक, त्यहाँ रहेको समाज र त्यस देशको अवस्था अत्यन्तै जिम्मेवार रहेको हुन्छ । त्यसैले बालबालिकाहरुले सानो छँदा जे कुरा गर्दै आइरहेका छन्, त्यस्तै कार्यहरुलाई निरन्तरता दिन्छन् । सानोमा जे सिकाइएको छ, त्यही अनुसार बालबालिकाहरु अघि बढ्दछन् । त्यसैले राम्रो संस्कार/राम्रो कार्यहरुमा संलग्न गराउन सकेमा आउने दिनहरुमा पनि त्यही कार्यहरु गर्ने हुँदा बालबालिकाहरुलाई सानैबाट राम्रो संस्कार, पढ्ने बानीको विकास गर्न अत्यन्तै जरुरी छ ।
निष्कर्ष
पुस्तकालय ज्ञानको भण्डार हो जहाँबाट हामीले चाहेको, खोजेको जानकारी र सूचनाहरु सजिलै प्राप्त गर्न सक्दछौ । बालबालिकाहरु सानैबाट सिर्जनात्मक प्रवृतिको भएमा विभिन्न ज्ञान सामाग्रीहरु खोजी–खोजी पढ्ने गर्दछन् । बालबालिकाहरुलाई सिर्जनात्मक बनाउन बाल पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । पुस्तकालयमा भएको विभिन्न पाठ्यसामाग्रीहरु मार्फत बालबालिकाहरुले थोरै मात्रामा भएपनि सकारात्मक सन्देश प्राप्त गरिरहेका हुन्छन् ।
बालबालिकाहरु सानैबाट पुस्तकालय जाने बानी भएमा उनीहरुमा पढ्ने बानीको विकास हुन्छ । ज्ञानमुलक सामग्रीहरु खोजेर पढ्ने गर्दछन् साथै अतिरिक्त क्रियाकलापमा रुचि बढ्दछ । अतिरिक्त क्रियाकलापहरुले बालबालिकाहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । फुर्सदको समयको राम्रो सदुपयोग पनि हुने हुँदा बालबालिकाहरुको सोच अन्यन्त्र नकारात्मक क्रियाकलापमा जान पाउदैन, तसर्थ उनीहरु सकारात्मक सोचतिर अभिप्रेरित हुन्छन् । साथै परिवारलाई बालबालिकाहरुको पहिलो पाठशाला मानिने हुँदा परिवारका सम्पूर्ण सदस्यहरुले बालबालिकाहरुको पठन सँस्कृतिको विकास, व्यक्तित्व विकासमा सक्दो सहयोग गर्न जरुरी छ ।

प्रतिक्रिया