बुधबार, वैशाख २९, २०७८

नेकपा विवादको भुमरीमा : अझैं झाँगिदै गुट

ज्योतिन्यूज २०७७ असोज १४ गते १७:०१

काठमाडौँ ,१४ असोज  ।

लामो समयदेखि विवादको भुमरीमा पिल्सिएको सत्तापक्ष नेकपा अहिले केन्द्र र प्रदेशको मन्त्रीमण्डल पुनर्गठनमा अल्झिएको छ । गत आइतबारदेखि प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहालको बीचमा यसै बिषयमा केन्द्रित भएर निरन्तर भेटघाट र छलफल भइरहेको समाचारहरु बाहिर आएका छन् । बाहिर आएका समाचार अनुसार प्रधानमन्त्री अहिलेको मन्त्रीमण्डलमा रहेका केही मन्त्रीहरुलाई यथावत राख्दै केही नयाँ मन्त्री नियुक्त गर्ने पक्षमा रहेको, गृह, अर्थ, परराष्ट्र र सञ्चार जस्ता महत्वपूर्ण मानिने मन्त्रालयमा आफ्नो अनुकुलको व्यक्तिलाई मन्त्री बनाउन चाहेको, बामदेव गौतमलाई कुनैपनि हालतमा मन्त्री बनाउन नचाहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल भने प्रधानमन्त्री वाहेक वर्तमान मन्त्रीमण्डलका सबै मन्त्रीलाई विदा गरी सबै नयाँ मन्त्री नियुक्त गर्नुपर्ने, महत्वपूर्ण मन्त्रालय भनेर चिनिने केही मन्त्रालयमा आफ्नो पक्षका व्यक्तिलाई मन्त्री बनाउनु पर्ने, बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई पनि अव पुनर्गठन  हुने मन्त्रीमण्डलमा समावेस गर्नुपर्ने पक्षमा रहेको बुझिएको छ ।

नेकपा लामो समयदेखि गुटगत विभाजनबाट ग्रसित हुदै आएको छ । त्यस पार्टीमा मुख्यत ३ वटा र सहायक १ दर्जन भन्दा बढि गुट सक्रिय रहेका छन् । पहिलो पुस्ताका नेताहरुको गणितीय संख्या अत्यन्त कम हुँदा समेत यो पार्टी गुटबन्दीबाट माथि उठ्न सकेको छैन । मन्त्री हुने वा अन्य महत्वपूर्ण राजनीतिक तथा आर्थिक लाभ लिने निहित स्वार्थका कारण पार्टीका दोस्रो तहका नेताहरु नै गुटलाई सक्रिय बनाउन तल्लिन देखिन्छन् भने पार्टीका दुई अध्यक्ष नै आ–आफ्ना गुट सञ्चालनमा व्यस्त भइरहेको प्रष्टै देख्न सकिन्छ ।

पार्टीभित्र मौलाउँदै गइरहेको गुटगत मानसिकताको कारण पुरै पार्टी संगठन अराजकतातर्फ अगाडि बढिरहेको देखिन्छ ।  पार्टी एकता भएको लामोसमय वितिसक्दा समेत अहिलेसम्म पार्टी एकताले पूर्णता पाउन सकेको छैन जसले गर्दा अहिलेपनि आम कार्यकर्ताले आफूलाई पूर्व एमाले र पूर्व माओबादी भनेरै चिनाउने गरेको पाइन्छ । त्यसकै परिणाम हो पार्टीले गति लिन नसक्नु, सरकार र पार्टीको बीचमा असमझदारी देखिनु, एकअर्कामा विस्वासको संकट पैदा हुनु आदि । अर्कोतर्फ स्वयम् पूर्व एमालेभित्रै रहेको माधव नेपाल र केपी शर्मा ओलीका छुट्टाछुट्टै गुट पार्टी एकता पश्चात  पनि थप सशक्त रुपमा आउनु, प्रधानमन्त्रीले झलनाथ खनाल र बामदेब गौतमको समेत विश्वास जित्न नसक्नु वा प्रधानमन्त्री स्वयम् पूर्व एमाले समुहमा कम्जोर बन्दै जानुले पनि सरकार र पार्टीको बीचमा सुमधुर सम्बन्ध बन्न नसकेको सजिलै आकलन गर्न सकिन्छ । यस्तो अवस्थामा वर्तमान प्रधानमन्त्रीले अर्का अध्यक्षको प्रस्ताव अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्लान् भन्नेमा विश्वस्त हुने आधार देखिदैन । बरु यो विषय थप पेचिलो बन्दै जाने देखिन्छ ।सरकारको कार्यकाल सकिन जम्मा २, अढाई वर्ष मात्र बाँकी रहेको अवस्थामा निरन्तर विवाद र गुटवन्दीमा अल्झनु त्यो पार्टीको हितमा देखिदैन । वरु मन्त्रिमण्डल पुनर्गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्रीलाई नै दिनु नेकपाको हितमा देखिन्छ ।

वर्तमान सरकार दुई तिहाइको नजिकको सरकार हो र पनि यसले सोचे जस्तो लोकप्रीयता हासिल गर्न सकेको छैन । सरकार गठनदेखी नै रचनात्मक काम गर्न असफल हुदै आएको यो सरकार कोरोनाको महामारी पछि पछिल्लो समयमा अत्यन्त अलोकप्रिय बन्दै आएको छ । सरकारले गरेका अधिकांश निर्णय विवादित र अलोकप्रीय नै रहेका छन् । जसले गर्दा जनतामा आफ्नो विश्वास गुम्दै गइरहेको सरकारमा नरहेका नेताहरुको गुनासो रहेको देखिन्छ । यस बिषयमा उनीहरुले बारम्बार पार्टीका शिर्ष नेताहरुको ध्यान आकृष्ट गराउँदै आएको भएपनि कतैबाट सुनुवाइ नभएको बताउने गरेका छन् ।

खासगरी केही समय अगाडि बसेको स्थायी समितिको बैठकमा देखिएको सरकार विरोधी अभिमतले पनि के देखाउँछ भने वर्तमान प्रधानमन्त्री बाहिर जनमानसमा मात्र होइन , आन्तरिक रुपमा पनि कम्जोर अवस्थामा रहेको स्पष्ट देख्न सकिन्छ । जव सरकार प्रमुख स्वयम् लामो समयदेखि पार्टीभित्र अल्पमतमा परेको हुन्छ वा उसले आफ्नो एजेण्डा पार्टीमा अनुमोदन गराउन असफल हुन्छ त्यस्तो अवस्थामा उ अराजकता र अधिनायकबादतर्फ अग्रसर हुने खतरा बढ्ने हुन्छ । स्वयम् वर्तमान प्रधानमन्त्रीको व्यक्तिगत स्वभाव र विगतलाई नियाल्ने हो भने उनमा चरम अधिनायकबादी स्वभाव रहेको देखिन्छ । त्यस्तो स्वभाव भएको व्यक्ति शक्तिमा भएको बेला पार्टीले बहुमतको नाममा निरन्तर अप्ठ्यारो पार्दै जाने हो भने त्यसको परिणाम भयानक हुने देखिन्छ ।

प्रतिक्रिया