शनिबार, मंसिर १८, २०७८

मुनपाको भवन निर्माण : यस्ता छन् बरिष्ठ अधिवक्ता डा. सापकोटाले दिएका ७ सुझावहरु

ज्योतिन्यूज २०७७ कार्तिक ७ गते १९:५५

गुल्मी, ७ कार्तिक । गुल्मी जिल्ला मुसिकोट नगरपालिकाको भवन निर्माण स्थलसम्बन्धी विवाद समाधानका लागि त्रिभुवन विश्वविद्यालयका कानुन संकायका निर्वतमान डिन तथा सर्वाेच्च अदालतका बरिष्ठ अधिवक्ता डा. ताराप्रसाद सापकोटाले ७ बुदे सुझाव दिनुभएको छ ।
हाल वामीटक्सार चिसापानि निवासी टीकाराम सापकोटा र कृष्ण सापकोटाले ५ रोपनी, लोक बहादुर पन्थले ३ रोपनी, नर बहादुर काफ्लेले २ रोपनी समेतगरी जम्मा १० रोपनी जग्गा मुनपाको भवन निर्माणको लागि दान दिनुभएको छ । उक्त जग्गा अग्ला ढिक सहित सुर्केबारी तथा बिरौटे खेत भएकोले प्राप्त भएपछि जमिन खारेर घडेरि तयार गर्न केही काम पनि भएको थियो । उक्त जग्गा निर्माणको लागि ठेक्का टेन्डर आह्वान भइसकेको छ । नगरप्रमुख सोमनाथ सापकोटाका अनुसार संघीय सरकारले भवन निर्माण गर्न ५० प्रतिशन बजेट दिने गरी बजेट स्विकृति समेत भइसकेको छ । जसमा ५० प्रतिशत लगानी नगरपालिकाको रहने भएको छ । उक्त भवन निर्माणको निम्ती १५ करोड ६० लाखकोे ठेक्का टेन्डर आह्वान गरिएकोमा ८ करोड ४६ ठेक्का सदर भएकोे छ । तर स्विकृतिको काम भने बाँकी रहेको छ ।

डा. सापकोटाका अनुसार जग्गा विवादको कारण
विषय १. प्रस्तावित स्थानमा बर्खाको समयमा लगभग २२/२३ सय फिटमाथी रहेको भलेकदेखि तिमचौर, काफलटोल, कनिके डाडाको भलपानी आउने ठाऊँ भएकोले त्यो ठाऊँ सुरक्षित नभएको प्राविधिक तथा यसका जानकारहरु बताउँछन् । जानकारहरुले अर्को उपयुक्त जग्गा खोजी भवन बनाउन सुझाव दिएका छन् । उक्त दाबीलाई मध्यनजर राखी मुनपाले सकेसम्म उपयुक्त जग्गा निशुल्क प्राप्त गर्ने नसके सस्तो मूल्यमा खरिद गर्ने उद्देश्यले उपयुक्त जग्गा खोजी भैरहेका समेत जनाएको छ ।
विषय २. उक्त मुनपाको जग्गासंग जोडिएको १० रोपनी जग्गा रुद्रावती बहुमुखी क्याम्पसको रहेको र भवन बनाउन पनि मिल्ने देखिएको हुंदा रुद्रावती बहुमुखी क्याम्पस भवन सहित १७ रोपनी जग्गा मुनपाको प्रस्तावित भवन निर्माणस्थल सहित ११ रोपनी र किन्न सहमति भएको ३ रोपनी समेत १४ रोपनी जग्गा रुद्रावती बहुमुखी क्यामपससंग सट्टापट्टा गर्ने विषयमा मुनपाका सल्लाहाकार समितिका सदस्य प्राडा.ज्ञानबहादुर थापाले २०७७ सालको भाद्र महिनामा फेसबुक मार्फÞत प्रस्ताव सार्वजनिक गर्नुभएको थियो । यस बारे पनि विभिन्न प्रतिक्रियाहरु आएको डा. सापकोटाले आफ्नो सुझावमा जनाउनुभएको छ ।
विषय ३. डा. ज्ञान बहादुर थापाको प्रस्तावप्रति सबै सल्लाहाकरहरूको राय लिने उद्धेश्यले मुनपाले मिति गत असोज २१ गते जूम बैठकको आयोजना गरेको थियो । जसमा उक्त प्रस्तावित जग्गामा मुनपाको भवन बनाउन र क्यामपस भवन बनाउन उपयुक्त नभएकोले उपयुक्त स्थान खोजी, प्राप्त गरी भवन बनाउन आवश्यक छ भन्ने राय केहि महत्वपूर्ण व्यक्तिबाट आएकोले सोही दिन मुनपाको बैठकले मुनपाको भवनको लागि आबश्यक पर्ने जग्गा खोजी गर्न वडानंबर ७ का वडाध्यक्ष प्रकाश काफÞ्लेको समयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको थियो ।
विषय ४. जग्गा खोजी गर्ने समितिले तल्लो टारको हरीलाल सापकोटा र कांशी प्रसाद शाक्यको जग्गा प्राप्त गर्दा १० रोपनिको चक्ला मिल्ने हुँदा उक्त जग्गा प्राप्त भएमा जग्गा पनि पुग्ने र प्रशासकीय भवन पनि उत्तम ठाउँमा हुने देखी हरीलाल सापकोटासंग कुराकानी गर्दा उहाँले जग्गा बिक्री नगर्ने भन्नु भएको थियो।
विषय ५. हरीलाल सापकोटाले जग्गा नदिने भएपछि कांशी शाक्यको जग्गा मात्र प्राप्त गरेर नपुग्ने र उक्त जग्गा नपाए पछि अब टारको फाँटमा मुनपाले विनियोजन गरेको बजेट भित्र जग्गा प्राप्त गर्न सकिएला जस्तो नभएपछि अब भवन बनाउन ढीलो गर्नु हुँदैन पूर्व निर्धारित जग्गामानै भवन बनाउनु पर्छ र अब अविलम्ब ठेक्का लगाऊँनु पर्छ भन्ने निष्कर्षमा जग्गा खोजी गर्ने समितिका बहुसंख्यक सदस्य पुगेको बुझिएको छ। एउटा जग्गा नमिल्दैमा जग्गानै पाईदैन भनि निष्कर्षमा पुग्नु हुंदैन। अन्य ठाउँमा पनि बुझनु पर्छ, खोज्नु पर्छ।

टारको फाँटमा थुप्रै ठाउँमा उपयुक्त जग्गा मिल्न सक्ने भन्दै सापकोटाले दिनुभएका समाधानका उपायहरु यसप्रकार छन् ।
१. उपल्लोटारमा मोटरसड़क देखी माथी बैकुण्ठलाल श्रेष्ठको ८ रोपनी जग्गा र स्मालिठान मान बहादुर खत्रीको छोरा नारायण बहादुर खत्रीको ४ रोपनी जग्गा बिक्रिमा राखिएको बुझीएको छ। यी दुबैको जग्गा जोडिएको छ रे। नारायण बहादुरजिको जग्गा मुसिकोटको गुठिको हो भन्ने पनि सुनिएको छ।
२. टारको अर्को ठाउ परुवा साइडमा मोटरबाटोसंग जोडिएको बिष्णु सापकोटाको ७ रोपनी जग्गा र उनको जग्गासंग जोडिएको होमनाथ सापकोटाको ४ रोपनी जग्गा छ उहाँहरूको जग्गा पनि दिन तयार हुनुहुंन्छ।
३ बिष्णु सापकोटाको ७ रोपनी जग्गासंग जोडिएको र मोटर बाटोमा जोडिएको म ताराप्रसाद सापकोटाको ३ रोपनी जग्गा पनि दिन तयार छु।
४. बिष्णु सापकोटासंग जोडीएका पूर्व, उत्तर दक्षिण तर्फ ५० रोपनी जग्गा चाहिए पनि प्राप्त हुने अबस्था छ।
५. मोटर सडक देखी पश्चिम तर्फ परुवामा पनि ३÷४ जनाको जग्गा मिलाएर लिंदा १० रोपनीको चक्ला मिल्ने गरी लिन सकिने सम्भावना छ।
यी बैकल्पिक ठाउँहरू तर्फ हेर्दै नहेरी जग्गा मिलेन भन्दै पुरानै तर बिल्कूलै अनुपयुक्त ठाऊँमा भवन बनाऊने निष्कर्षमा पुग्नु दुर्भाग्य हुने छ। मुनपाको भवन पटक पटक बनाऊँन सकिंदैन र केन्द्रबाट बजेट पनि प्राप्त हुंदैन । तसर्थ भवन बनाऊँदा कालान्तरसम्म उपयुक्त हुने ठाऊमा र बलियो भवन बनाऊनु पर्छ। क्यामपस भवन सहित क्यामपसको जग्गा र मुनपाको जग्गासंग सट्टापट्टा गर्ने कार्य वा क्यामपस स्थानांतरण गर्ने कार्य कदापि उचित मान्न सकिंदैन। क्यामपसका लागि लाखौ करोडौंको जग्गा दानगर्ने दाताहरूप्रति मुनपा जावफदेही हुनु पर्ने कि नपर्ने ? क्यामपस भवन निर्माण गर्न दिएको जग्गा क्यामपस भवन बनी संचालनमा रहेको भवन मुनपालाई दिंदा जग्गा दाताको मन दुख्छ। कानुनीरुपमा क्यामपसको भवनतथा जग्गा प्राप्त गर्न वा मुनपाको जग्गासंग सट्टापट्टा गर्न सहज पनि हुंदैन।
६. मुनपाको प्रशासकीय भवनका लागि टार तथा टारीको फाँट सबैभंदा उत्तम स्थान हो। यदि टार र टारिको फाँटमा जग्गा प्राप्त हुन नसके टकसार बजार तर्फ पनि पाउँन सकिन्छ। मोहनलाल श्रेष्ठ सरको घरपारी बुद्ध बिहार भंदा माथी पनि २ वर्ष अघि वामीटक्सार गएको बेलामा प्रशस्त खाली ठाउँ देखेको थिंएँ । सायद अहिले सम्मपनि खाली हुन सक्छ तेता तर्फ पनि खोज्न सकिन्थ्यो। यदि नहेरेको भए तेता तर्फ पनि हेरियोस।
७. अन्तिम बिकल्प – यदि टारको फाँटमा मुनपाको लागि उपयुक्त हुने जग्गा प्राप्त गर्दा जग्गाको मुआब्जÞा तिर्न बजेटले नपुग्ने हो भने मुनपालाई आवश्यक पर्ने १० रोपनी जग्गा मध्ये आधाजग्गाको मूल्य मुनपाले तिर्ने र आधाजग्गाको मूल्य मुनपा वडानम्बर ७ का जनताले (आर्थिक हैसियतका आधारमा क, ख, ग, घ, ..वर्गीकरण गरी) योगदान गर्ने गरी जग्गा खरिदरप्राप्ति गरेर समस्याको समाधान गर्न सकिन्छ।
सापकोटाको अनुरोध – मुनपा परिवार, जग्गा खोजी गर्न गठित समिति, वडानम्बर ७ का जनता तथा सम्पूर्ण नगरबासी हरुमा माथी उल्लेखित विकल्पमा काम गरी समस्याको समाधान निकाल्न म हार्दिक अनुरोध गर्दछु।
यस विषयमा नगरप्रमुख सोमनाथ सापकोटाले सुझाव सकारात्मक भएपनि जग्गाको समस्या रहेको बताउनुभयो । हालसम्म ६० प्रतिशत सम्भावना हाल तोकिएकै ठाँउको लागि रहेको भन्दै उहाँले उपयुक्त जग्गा भेटिएको खण्डमा अन्यत्र पनि सार्न सकिने बताउनुभयो । यही काम गर्नको निम्ती वडाध्यक्ष प्रकाश काफ्ले नेतृत्वको समितिले कार्तिक २१ गतेसम्म काम गर्न समय पाएको छ । उक्त समितिले कुनै नयाँ ठाँउमा जग्गा फेला पारेको खण्डा भवन निर्माणको ठाँउ परिवर्तन हुने छ । होइन भने, प्रस्तावित ठाँउमै भवन बन्ने भएको छ ।

प्रतिक्रिया