बुधबार, असार ९, २०७८

थारु बस्ती सुनसानः झुमरा र सखियामा बजेनन् मादल

ज्योतिन्यूज २०७७ कार्तिक ८ गते १८:१४

देउखुरी, ८ कात्तिक
बडादशैंमा मात्र नाचिने थारुहरुको सखिया र झुमरा नाच यसपालि यहाँ जम्न सकेन । कोरोना सङ्क्रमणका कारणले सामूहिक भेला र भीडभाड रोकिएकाले नाच रोकिएका हुन् ।
थारु समुदायमा नवमी धुमधाम मनाइन्छ । सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने चलन छ । थारु समुदायमा आउनुभन्दा एक महिना अगाडिदेखि सखिया र झुमरा नाच नाच्ने गरिन्थ्यो तर यसपालि कोभिड-१९ का कारण कुनै पनि नाच हुन सकेनन् । झुमरा नाच र दशैं विशेष विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएन, गाउँघर सुनसान छ ।
नवमीको दिन बिहानै कुल देवतालाई भेरवा (कुपिण्डोबाट बनाएको भेंडा ) र भालेको बलि दिने गरिन्छ र त्यसको पित्तर (पिण्ड) दिने चलन छ ” । त्यस दिन बलि दिइएको कुखुरा र कुभिण्डो पकाएर घरका सबैले खाने गर्छन् ।
नवमीका दिन थारु युवकयुवती रातभर सखिया र झुमरा नाच नाच्ने गर्छन् । घोराही १७ कर्जाहीका पूर्ण चौधरी भन्नुहुन्छ, “परम्परागत चाड दशैँमा अरु समुदायभन्दा थारु समुदायको फरक हुन्थ्यो । यो नाचले दशैँको रौनकलाई अझ बढाउँथ्यो ।”
प्रायः युवकले मादल बजाउने र युवतीले नाच्ने प्रचलन छ । रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचको महत्वले दशैंको गरिमालाई समेत बढाएको हुन्छ । घोराही उपमहानगरपालिका– १० का थारु अगुवा धनीराम चौधरी भन्नुहुन्छ, “यसपालिको दशैंमा कोभिड-१९ को महामारीका कारण पूरै गाउँ नै सुनसान छ । घटस्थापनाका दिनदेखि थारु बस्तीमा झनै रमाइलो हुन्थ्यो । थारु बस्तीको नाचगान हेर्दा गाउँघरका सबैलाई रमाइलो हुन्थ्यो ।” उनीहरु हरेक वर्ष नयाँ पहिरन लगाएर नाच्ने गर्छन् ।
थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि विशेषगरी नाचसँगै दशैँमा गाउने गरिन्छ । सखिया नाच्नका लागि १५-२० युवतीले सेतो रङको फरिया तथा रातो चोलिया र रिबन लगाउने गर्छन् । युवकले भने सेतो रङको धोती र रुचिअनुसारको कमिज लगाई मादल भिरेर बजाउने चलन छ । सखिया नाच मादलको तालसंगै तीन खण्डमा नाच्ने गरिन्छ । यसपालिको दशैंमा दाङका थारु बस्तीमा मादल पनि बजेनन्, नाचगान पनि भएन र गाउँघर सुनसान भएको छ ।
चार वर्षदेखि सखिया नाच नाच्दै आउनुभएका घोराही-४ गोग्लीकी अनिता चौधरी यसपालि नाच्न नपाउँदा खिन्न हुनुहुन्छ । उहाँले भन्नुभयो, “कोरोनाका कारण यसपालि घरमै बस्ने निर्णय ग¥यौँ, अर्को साल सबै साथीहरु जम्मा भएर नाच्ने, रमाइलो गर्ने छौँ ।”

प्रतिक्रिया