बिहीबार, मंसिर १६, २०७८

चाडवाडसंगै सवारी दुर्घटनामा परी मृत्यु

ज्योतिन्यूज २०७७ कार्तिक ८ गते २२:५९

काठमाडौं, ८ कात्तिक ।

काठमाडौं महानगरपालिका-३२ तिनकुने मुनिभैरव सडकमा प्रदेश ३-०२-०१२ प ७१०१ नम्बरको स्कुटर शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मुलपानी बस्ने ३० वर्षीय स्कुटर चालक मनोज बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, मिथिला नगरपालिका-६ ढल्केवरमा ना.१७ प १८८ नम्बरको मोटरसाइकललाई ज.१० प ५३९७ नम्बरको स्कुटरले शुक्रबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार जनकपुर उपमहानगरपालिका-४ बस्ने ६० वर्षीया चन्दा साहको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकी चन्दाको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । स्कुटर चालकको सोही अस्पतलमा उपचार भइरहेको छ । दुवै सवारी साधन र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, बर्दिबास नगरपालिका-६ स्थित सडकमा प्रदेश २-०२-००२ प २८५८ नम्बरको मोटरसाइकल शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरी रुपनी नगरपालिका-१ रायपुर घर भएका १९ वर्षीय कमलकान्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कमलकान्तको धनुषा मोडेल अस्पताल लालगढमा उपचारकोक्रममा मृत्यु भएको हो ।

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-१ नागरिक चोकमा लु.१ ख ४५९० नम्बरको ट्रकले शुक्रबार साँझ रिक्सालाई ठक्कर दिँदा रिक्सा चालक नवलपरासी गैंडाकोट नगरपालिका-१ बस्ने ६८ वर्षीय कलाधर कंडेलको मृत्यु भएको छ । ठक्करबाट गम्भीर भाइते भएका कंडेलको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया