बुधबार, असार ९, २०७८

सुन र लागु औषध सहित नेपाल–भारत सीमामा चार पक्राउ

ज्योतिन्यूज २०७७ कार्तिक ९ गते ९:२३

कञ्चनपुर, ९ कात्तिक ।
बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागु औषध र सुनसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट पोष्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा कैलाली उपमहानगरपालिका-२ का १६ वर्षीय हिमाल शाह, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० का २८ वर्षीय मनिष सुनारलाई पक्राउ गरिएको हो । पक्राउ परेका मध्ये शाहबाट सशस्त्र प्रहरीले लागु औषध ब्राउन सुगर तीन दशमलव पाँच ग्राम र अर्का पक्राउ परेका सुनारबाट एक दशमलव पाँच आना अवैध सुन बरामद गरेको छ ।

यसैगरी भीमदत्त नगरपालिका-३ भाँसी बस्ने ३५ वर्षीय जनकराज जोशी र सोही नगरपालिका वडा नं १५ बस्ने ३६ वर्षीय नगेन्द्र चन्दलाई मोटरसाइकलको सिटभित्र लागु औषध लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ गरेकाहरुबाट लागु औषध कोरेक्स-६०० मिलिटरका छ बोतल, नाइट्रोभ्याट-२४ चक्की, प्रोभोलिन स्पास-१५ वटा बरामद गरेको छ । बरामद लागु औषध, सुन, मोटरसाइकल र पक्राउ परेका चारै जनालाई आवश्यक कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।
रासस

प्रतिक्रिया