मंगलबार, मंसिर २१, २०७८

संवेदनाहीन सत्ता र विश्वासको संकट

नरेन्द्रजंग पिटर २०७७ कार्तिक १० गते ५:५७

जवसम्म समस्या अरुलाई मात्र पर्छ तवसम्म गम्भीर विषय पनि सामान्य ठानिन्छ । त्यो अरुलाई मात्र हो, मलाई त छुँदैछुँदैन भन्ने सोचिन्छ । खाई, पिई अघाएका शक्तिशालीहरु अजम्वरी सोच्छन् । विश्व कोरोनाको माहामारीमा छ तर शासकलाई बरदान भयो । कात्रो ब्यापार फस्टाएकै छ । आफैँ अस्वस्थ भएपछि भने मेरो सरोकारको विषयमा अस्पतालमा भर्ना हुँन् कुन, कुन पापड बेल्नुपर्ने हो ? आसियु कहाँ छन् ? कस्को सिफारिस चल्ने हो ? पैसा जोगाड कसरी गर्ने  ?  चिन्ता छायो । सरकारले आफ्नो ब्यबस्था आफैँ गर् या पशुपतिनाथको भर पर् भनेपछि तव सरकार भन्ने जिनिसबारे प्रश्न उठे । यसैपनि चुलोमा के पाकेको छ भन्ने कुरा आंगनले नै देखाँउछ, सत्ता नियाल्न सिहदरवार हैन्,वालुवाटार नियाल्नुपर्छ ।

युरोपमा दोश्रोचरणको कोरोनाकाल सुरुभयो । कोरोना टाउकोमा सवार छ, तर सरकार जिम्मेवारीबाट हट्छ भने सरकार, राज्य र अवस्थाबारे सोच्न बाध्य पार्दैछ । के हामी त्यसबाट अछुतो हौँला । वा सरकारी मान्छे सरकारी नेकपालाई यो चिन्ता, चासो र सरोकार हुँने कि नहुँने ? कोरोना जिम्मेवारीबाट स्वमुक्त हुँनु सरकारी संवेदनाको निकृष्ट पराकाष्टा थियो, हो र रहनेछ ।

अस्पतालका २ लाख धरौटी मागका सूचना आए । डिलक्स अस्पतालका विसौँलाखका बिल देखा परे । सो घोषणासंगै राज्यतन्त्रबारे अनेकौँ कुरा गम्न वाध्य बनायो – म के नागरिक हुँ ? के म जन्मेको हुर्केको, रहेको राजनीतिक भूगोल मेरै देश वा राज्य हो ? राज्य र नागरिक हुँन के, के आधारभूत सर्त पुरा हुँनुपर्छ ? समाजवाद उन्मुख राज्यका आधारभूत चरित्र के, के हुँन्छन् ? के मलाईजस्तै चिन्ता सरकारीमान्छेलाई पनि छ ? वा उनीहरुलाई कोरोनाले छुँदैन् ? सरकारी नेकपाको मौनताले कोरोना उनीहरुबाहेकलाई मात्रै लाग्छ कि जस्तो भएको छ । कम्युनिष्ट हुँनुका नाताले ‘कम्युनिष्ट सरकार’ र नेतृत्वको विरोध गर्ने पटक्कै मन थिएन् । अझ विरामीले गाँजेको बेला जेपनि हुँने संघारमा रहेको मान्छेले देश, सरकार, मानवता, राजनीति जस्ता विषय किन सोच्ने ? यस्ता चिन्ताले त रोग अझ बढछ, मनोदशा कमजोर बनाँउछ नै । थाहा छैन् म पनि यस्लाई कसरी सामना गर्छु ! तर सामने आएका प्रश्नबाट भने म पनि उम्कन सक्दिन् । त्यसैले मौनता अपराध हो भने सरोकारको विषय बन्नैपर्छ ।

विश्वासको संकट भ्रमको उत्पादन

सवै प्रश्नको केन्द्रिय उत्तर त राजनीतिमा हुन्छ । ताली पनि कमाण्डरलाई, गाली पनि कमाण्डरलाई नै हुन्छ । प्रधानमन्त्रीले पार्टी सरकार, जनमत, ब्युरोक्रेसीबाट र्अथात चौतर्फी विश्वास गुमाईसके । ज्वालामुखीको क्रेटरमा उभिएको सत्ता कुनै पनि वेला भरिएको बेलुनमा एउटा सामान्य पिन घोचिएपनि ब्लाष्ट हुनसक्छ । समस्या के हो भने यसले एउटा ब्यक्तिलाई मात्रै असर गर्छ की ! समग्र ब्यबस्थालाई नै ? गम्भीर प्रश्न बन्यो । संकटको आभास भएरै भारतीय हेपाहा प्रबृतिविरुद्दको चट्टाने अडान राख्ने भनिएका प्रधानमन्त्रीको दृढअडानलाई एउटा उच्चकोटीको जासुस(रिर्सच एण्ड एनालाइसिस विंग) प्रमुख सामन्तकुमार गोयलले विटुल्याइदिए भने कालापानीबारे अभद्र टिप्पणी गर्ने भारतीय प्रधान सेनापति आगमनपूर्व धेरै समिकरण फेरिदैछन् । चट्टान पग्लिएकोमा भारतीय मिडिया (द हिन्दु, इण्डियन एक्सप्रेस जस्तामिडिया) तिघ्रा बजाँउदै छन् ।

विश्वासको संकटसंगै भ्रमका खेल सुरु हुन्छन् । त्यो नागाेंपना पार्टीभित्र कर्णाली प्रदेशमा देखाप¥यो भने संकटमोचनमा हिजोका पार्टीको आवेग र उत्तेजना फैलाउन खोजिदैछ । अहिलेको सवभन्दा ठूलो समस्या प्रधानमन्त्री र सरकारबीच विश्वासको संकट हो । सत्ता जनतालाई भीड बनाउन चहान्छ । भीडसंग विचार, सपना, कार्ययोजना, लक्ष र नेता केही हुँदैन् । जस्ले पनि प्रयोग गर्न सक्छ । भीड एक बोरा आलु जस्तै हो ।बोरा खोल्ने बित्तिकै एक एक अंशमा छितरिन्छन ।
गतसाल प्रायोजित ढंगले पुर्ब सभामुख कृष्ण बहादुर महरालाई (शिर्षक भने उनैले दिए) परिवन्दमा फसाइयो, यसपटक कर्णालीको मुख्यमन्त्रीलाई सहमति बिपरित हटाउने नाटक रचियो र एकलौटी मन्त्री मण्डलमा मन्त्रीहरु थपियो । कार्यकारी अध्यक्ष र सचिवालयको सल्लाह बिना राजनैतिक नियुक्ति भए । पार्टी एकताका काम १० दिनमा सक्ने सहमति पहिलाका निर्णय जस्तै अर्थहीन भए । संघियताको मर्म बिपरित प्रदेशलाई केन्द्रको युनिट भनेर परिभाषित गर्ने गैह्रसंवैधानिक काम भए । बिनासकाले विपरित बुद्दी भएपछि वास्तविक रुपमा प्रष्टिनै पर्थ्यो  ।

संवैधानिक अंग खुम्चिए, शक्ति केन्द्रिकरण र ब्यक्तिकरण भयो । पिरामिड आकारको सत्ताको केन्द्रमा ब्यक्ति हुकुमशाली बन्छ भने तहगत आदेशपालनमा अन्य संस्था वा ब्यक्ति रहन्छन् । राज्यका संवैधानिक अंग या औचित्यहीन हुन्छन् या निष्कृय । पार्टी भन्ने कुनै संस्था त हुँदैहुँदैन् । सन १९३३मा जर्मनीमा तेस्रो संसद बनेपछि एडोल्फ हिटिलरले सरकारमा पार्टीको कुँनै भूमिका हुदैन्भन्दै शक्ति केन्द्रिकरणगर्दै विश्वासपात्रवाट घेरिएर पार्टीका पुराना नेता कार्यकर्ता वाइपास गराए । आश र त्रासले लतारिएकाले भने झर्ला खाँउला भनेर उनका हरेक कामको सर्मथक बन्दै गएर एउटा समाजवादी पार्टी क्रमशः फासीवादमा फेरिँदै गयो । संसारमै कोरणकालमा अदालत शासकको हित वकालतकर्ता बनेको टर्की, भारत, हंगेरी आदि देश त उदाहरण बने ।

प्रधानमन्त्रीलाई आलोचनाले केही फरक पर्दैन । राय जान्नको बदला, आवेग भरेर राय बनाउने कोशिस गर्र्दैछन् । जुन राष्ट्यिताको बुईमा चढेर उनी चट्टान बनेका थिए, त्यो पग्लिसक्यो । उमेर बढदैजाँदा, रोगले गाल्दैजाँदा चिढचिढापन त बढछ नै । जव अहंकारले सहयोद्दालाई दुश्मन देख्नथाल्छ तव बदलाभाव र सवै समस्याका कारक आप्mनै पार्टी र सहयोद्दामा देखिन्छ । गरौँ त, गरौ के ? भन्ने अवस्थामा प्रधानमन्त्री छन् । भूसंवेदनशील देशमा त्यो राजनीतिक घटनामा छिटै देखिनेछ । समय खराव हुन्छ भने उँटमा चढेपनि मान्छेलाइ कुकुरले टोक्न सक्छ । जव मान्छे शिर्षासनमा बस्छ, तव जमिनी वास्तविकताबाट उ टाढिन्छ । अनुमानै लगाँउन सक्दैन् ।

पेटमा दाँत, राख्ने मान्छेलाइ सहमति र सम्झौता भनेको समय घर्काउने शक्ति सञ्चयकाल मात्र हुन्छ । मान्छेका तृष्णा कहिल्यै भरीदैन् जसरी समुद्र, मसानघाट तृष्णाको घडा र मान्छेको मनलाई नियाल्दा थहाहुन्छ तर दुध उम्ले पछि पोखिने गर्छ । दुध पोखिनका एउटै कारण भने हुँदैन् । छचल्केर, भाडोँ भरिएर, उम्लेर, भाँडै घोप्टेर वा चुहिएर त्यो परिस्थितिमा भरपर्छ । सवै तरल पदार्थ एकै ठाँउमा राखे पनि पहिलाकै रूप र चरित्र राख्छन् भने आपसमा कहिल्यै मिल्दैनन । आपसमा अन्तरघुलन भने पनि मूल गुण र चरित्र एउटाकै हुन्छ भने त्यो मिलाप हुँदैन । जव दुवैले पहिलाको रूप र गुण फेरेर तेश्रो बन्छन् तव मात्र मिलाप भन्न सकिन्छ । हरेक संगम नदीका मिलाप मात्रै हैन् अगाडि भंगाला फुटन सक्छन् । संकटबाट पार पाउन प्रधानमन्त्री पूर्ववर्ति समूहको आवेग भर्न चहान्छन् तर कोशी र कर्णालीमा पानी धेरै बगिसकेको हेक्का भने राखेको देखिँदैन् ।

समस्या कहाँ छ ?

सरकारी नेकपाको समस्या भनेको संरचनामा, संस्थामा र मूल्यमा हो तर समस्याको हल भने प्रधानमन्त्री प्रविधिक रुपमा खोज्दैछन । समस्या भित्र छ, बाहिर खोजिन नक्कली दुश्मन तयार गरिँदैछ । लोकपृय नाराबाट सत्तामा पुगेपनि लोकतान्त्रिक आर्दशमा ढाल्न सकेन भने सामन्ती अहंकारमा फेरिएर टुट्न सक्ने झुक्न नसक्ने स्वभाव विकास हुन्छ । त्यसले ब्यक्ति त ध्यस्त हुन्छनै, ब्यबस्था पनि जोगाउन सकिँदैन् । सामाजिक अवस्थालाई अंकगणितको बहुमतले मात्र धान्नै सक्दैन् ।
विभत्स सुन्दरता भनेकै जे छ, त्यो भन्न नसक्नु तर सहयोद्दाको मान मर्दन गर्न र संस्थागत भ्रष्टाचारको संरक्षण र प्रोत्साहान हो । समर्थनलिने तरिका भय र प्रलोभन हो । त्यसकोलागि अख्तियारको हतियार न्यायिक र अर्धन्यायिक निकायको प्रयोग र आतंक हो । भय र प्रलोभनले समिकरणको तोडफोड हो । अहंकारको व्यबस्थापन हुँन नसक्नु र आलोचनात्मक चेत ध्वस्त हुनु समस्या हुँन् । यो सरकारी नेकपा सत्ताधारी पार्टी भएकोले यो प्रधानमन्त्रीको ब्यक्तिको मात्रै नभै प्रश्न देशको संकटग्रस्त समस्या हो ।

अन्तमा

बाँच्नेको आधार, आशाको जननी, निराशाको अन्त भनेको विश्वासको थलोको जर्गेना हो । सरकारी भूमिका नियाल्दा आशा मर्दैछन् आक्रोस मौलाउदै छ, त्यसले कुनै पनि रुप कुनै पनि समय लिन सक्छ । कोरनाकालमा अझ शासनका सूझाव, आदेश र सल्लाहालाई परिणामले लत्यायो । आपत–साहारा सरकार मात्रै हैन् भगवान, अल्लाहा र इश्वर मन्दिर, मस्जिद, चर्च खालीगरेर भागी सके तर कर्मकाण्डी हाम्रो घन्टादर्शनलाई भने असर परेन् । के यो निराशालाई आशामा फेर्ने उपायको खोजीमा सकृय हुँने संकटद्धारमा पनि उपाय छैनन त ? अवस्य छन्, हुन्छन् । हरेक रोगले आफैसंग उपचार लिएर आएका हुन्छन् मात्रै चाहियो सही डाइगोनोसिस र सही ट्रिटमेन्ट । आशा जीवन हो रक्षा गरौँ ।

नरेन्द्रजंग पिटर

ज्योतिन्यूजका नियमित स्तम्भकार पिटर बरिष्ठ वामपन्थी लेखक तथा पत्रकार हुन् ।

प्रतिक्रिया