शनिबार, मंसिर १८, २०७८

अपराधका ’क्लु’ दिने सिसी क्यामेरा मर्मतको पर्खाइमा, उपमानगरपालिका रमिते

ज्योतिन्यूज २०७७ कार्तिक ११ गते १६:२१

इटहरी,११ कार्तिक ।

गएको भदौको दोस्रो सातादेखि इटहरीका विभिन्न ठाउँबाट सिटी सफारीको ब्याट्रीहरू चोरी हुन थाले । चार्ज राखेकै ठाउँबाट एक एक वटा गर्दै १६ वटा सिटी सफारीको ब्याट्री गायब भए । चोरी भएको उजुरी प्रहरीमा परेपछि प्रहरीले अनुसन्धान सुरु गर्न थाल्यो ।
चोरी भएको ठाउँ आसपास भएको सिसी क्यामेराको सहायताले प्रहरीले चोरी गर्ने गिरोहै पत्ता लगायो । अहिले ती मुद्दाहरू अदालती प्रक्रियामा छन् । सिसी क्यामेराको सहायताले चोरहरू पत्ता लगाएको प्रहरीलाई अहिले भने समस्या थपिनै गएको छ ।
इटहरीमा राजमार्गको अनुगमन तथा शान्ति सुरक्षालाई चुस्त बनाउन प्रदेश सरकारको ‘सडक सुशासन कार्यक्रम’ लगायतको बजेटबाट ‘हाई मेगापिक्सल’ सिसी क्यामेरा जडान भए । सिसी क्यामेराले इटहरीको शान्ति सुरक्षामा धेरै नै प्रभाव परेको थियो । सिसी क्यामेराकै सहयोगमा इलाका प्रहरी कार्यालय इटहरीले सामान्य देखि जघन्य अपराधसम्मका गतिविधिमा संलग्नलाई पक्राउ गर्न पनि सक्षम भएको थियो ।
अपराध अनुसन्धानमा ’क्लु’ दिएर सहयोग गर्ने इटहरीका अधिकांश सिसी क्यामेरा अहिले बिग्रिएका छन् । २ वर्ष अगाडी मात्र जडान भएका सिसी क्यामेराहरू अहिले अधिकांश बिग्रिएकाले प्रहरीलाई अपराध अनुसन्धानमा समस्या पर्दै गएको छ ।
दुई वर्ष अगाडी उद्योग वाणिज्य सङ्घले ८ महत्त्वपूर्ण स्थानमा ‘हाई मेगापिक्सल’ वाला सिसिटिभी जडान गरेको थियो । ‘सडक सुशासन कार्यक्रम’ अन्तर्गत इटहरीको पूर्व पश्चिम राजमार्गमा प्रदेश सरकारले पनि थप ६ ठाउँमा क्यामेरा थपि दियो , त्यसपछि विभिन्न ठाउँबाट १२ वटा क्यामेरा थपेर जडान गरिएको थियो । पछि थप ती मध्ये १२ वटा मात्रै सञ्चालनमा रहेका छन् भने १३ वटाले कामै गरेका छैनन् ।
प्रहरीलाई सिसी क्यामेराले अपराध अनुसन्धानमा ठुलो सहयोग गरेको  इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश बस्नेत बत्ताउँछन् । टेक्निकल इन्टेलिजेन्स्  समेत रहेको सिसी क्यामेराको मनोवैज्ञानिक कारणले पनि चोरीको घटनामा कमी आउने बस्नेत बत्ताउँछन् ।
सिसी क्यामेराको ‘मनिटरिङ कक्ष’ भने इलाका प्रहरी कार्यालय इटहरीमा राखेर निगरानी गर्दै आएको प्रहरीलाई अहिले अनुसन्धानमा समस्या परेको देखिन्छ । प्रहरीले २४ सै  घण्टा इटहरी बजार र सडकको अवस्था निगरानी गर्न सक्ने प्रविधि अहिले बेकामे बन्दै गएको उद्योग वाणिज्य संघका उपाध्यक्ष दिवस पोखरेल बत्ताउँछन् ।
निजी क्षेत्रले सहयोग गरेर लगाएको सिसी क्यामेरालाई उपमहानगरपालिकाले समन्वय गरेर बनाउनु पर्ने पोखरेल  बताउँछन । ‘हामीले लगानी गरेर क्यामेरा किनेर जडान ग¥यौ अझै पनि गर्छौँ’ बिग्रिएको सिसी क्यामेरा उपमहानगरले बनाउनु पर्ने भन्दै पोखरेलले भने ‘उपमहानगरसँग प्राविधिक कर्मचारी छ बजेट पनि छुट्याएको छ तर बनाउने ध्यान नै छैन ।’

प्रतिक्रिया