शुक्रबार, माघ ७, २०७८

ओलीको एकात्मक शैलीले नेकपाका प्रदेश सरकारहरु धरापमा

ज्योतिन्यूज २०७७ कार्तिक १२ गते ९:५८

काठमाडौँ, १२ कार्तिक ।
दुई वर्षअघि २०७५ जेठ ३ गते पार्टी एकीकरण हुँदा नेकपा अध्यक्षद्वयले प्रधानमन्त्री निवास बालुवाटारको पार्कमा जापानी बिरुवा ‘जिंक्गो वाइलोवा’ रापेका थिए । उक्त एकता पछि दुवै अध्यक्षले जापानको हिरोसिमा र नागासाकीमा आणविक आक्रमण हुँदासमेत नमरेको उक्त रुखजस्तै पार्टीलाई पनि बलियो बनाउँछौं भनेर खुब चर्चा पनि चलाए । तर दुई बर्ष पछि पार्टी ‘यदुवंशी’ को बाटोमा हिडेको छर्लङ्ग देखिएको छ । केही दिन अघि पर्सामा भएको नेकपा कार्यकर्ताको मृत्युको विषयले पनि नेकपामा भावनात्मक एकता नभएको देखिन्छ । त्यससँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही माथि नियोजित अविश्वास प्रस्तवले पार्टी भित्रको विवाद बिस्कुन सरी छरिएर नेकपालाई फुट (?) सम्मको दोसाँधमाधकेलिएको छ ।
नेकपाका दुई अध्यक्षहरुले प्रदेशमा भइरहेको विवादको  समाधानका उपायमा छुट्टाछुट्टै निर्देशन दिएसँगै पार्टीमा एक अर्का अध्यक्षको हैसियतलाई नटेरेको स्पष्ट देखिन्छ,जसले गर्दा नेकपाका कार्यकर्ता पक्ष /विपक्षमा देखिन थालेका छन्  । यससँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका ब्यक्तिलाई गरिरहेको नियुक्तीले पार्टीलाई थप पतनको बाटो लगिरहेको ओली इतरका नेकपा नेताहरुले बताउने गरेका छन् ।
विशेष गरी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको विरुद्धमा गरिएको अविश्वासको प्रस्ताव तथा शाहीले प्रमुख सचेतकलाई हटाएपछि पार्टीका दुई अध्यक्षले दिएको छुट्टाछुट्टै निर्देशनले पार्टी केही समयमै फुट्न सक्ने स्थिति  देखिएको हो । यसै विषयमा नेकपा महिला नेतृ तथा संसाद रामकुमारी झाक्रीले दुई अध्यक्षकै निर्देशनलाई ट्विटरमा पोष्ट गर्दै पार्टीमा नराम्रो संकेत देखिएको बताएकी छन् । उनले पार्टीमा लामो समय देखिअफ्ठ्यारो भएको भन्दै यसमा ध्यान दिन भनेकी छन् ।
यसैगरी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा विच सामाजिक सञ्जालमा लामो समय देखि खुुला रुपमै आरोप प्रत्यारोप हुने गरेको छ ।
गत फाल्गुण यता दुई अध्यक्ष विच ५० पटक भन्दा धेरै बैठक भएका छन् । तर ती बैठकले कुनै उपलब्धि दिन नसकेको पार्टीका नेताहरु बताउँछन् । विशेष गरी केपी ओलीले अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरुलाई नटेर्ने गरेको कार्यकर्ता पंक्तिमा बुझाई छ ।
तीन बर्ष अघि दुई अध्यक्षले पार्टी एकता गर्ने भनेर दशैँको मौकामा चर्चा चलाए । जसका कारण हालका नेकपा उहिलेका माओबादी केन्द्र र र पूर्व एमालेका कार्यकर्ताको दशैँ पनि गज्जबको भयो । तर हाल तीन बर्ष पछि नेकपामा उत्साह छैन ।

केही दिन अघि भारतका गुप्तचर निकायका मुखिया सामन्त गोयलसँग प्रधानमन्त्री ओलीले भेटघाट गरेसँगै उनको राष्ट्रवादमा नेकपा कै कार्यकर्ताबाट गम्भीर प्रश्न उठाउने तयारी छ । हरेक दिनका ओलीका गतिविधिका कारण उनी आलोेचित मात्र भइरहेका छैनन्, बरु आफ्नो पदीय हैसियत र शक्तिमाथि नै लात हानिरहेको नाम नबताउने सर्तमा नेकपाका एक जिम्मेवार नेताले बताए  ।
ओलीका खुट्टा धमाधम ढल्ने संकेत
संघीयता कार्यान्वयनमा ओलीको एकात्मक सोँच बाधक बनेको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी यस अघि एकै गुटको भएको कारण उनीहरुले देशमा रहेको संघीयता आफ्नै आदेशको भरमा चलाउन खोज्दै संघीयताको अवधारणा र मूल मर्म माथि नै प्रश्न खडा गर्ने गरी हस्तक्षेप गरेको देखिन्छ ।
हिजो तत्कालिन समाजवादी पार्टीलाई फुटाएर मधेसबादी दललाई छिन्न भिन्न पारेर प्रदेश २ सरकार लडाउन खोजेका ओलीले आफ्नै एकाङ्गी पारा नसच्याउँदा प्रदेश १ सरकार र वाग्मती प्रदेश सरकार पनि धरापमा पर्ने अवस्था देखिएको छ ।
यमलाल कंडेललाई प्रयोग गरेर कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन लगाएका ओलीले आफ्नै विश्वास पात्र रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा पारेका छन् । तिहारको आसपासमै मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना रहेको नेताहरुले बताएका छन् । यसका लागि नेताहरुको हस्ताक्षर संकलन पनि भइसकेको बताइएको छ । मुख्यमन्त्री राईले न त मन्त्रीमण्डललाई पूर्ण बनाउन सकेका छन्, न त हालसम्म प्रदेशको नाम र राजधानीको विषयमा कदम उठाउन सकेका छन् । जसका कारण उनीप्रतिको विश्वास पनि उनकै दलका नेतामा गुमेको छ ।
त्यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको विरुद्धमा पनि अविश्वासको प्रस्तावको हस्तक्षर तयार भएको र अब चाँडै नै दर्ता हुने अवस्थामा रहेको प्रदेशका जिम्मेवार सांसदले बताए । ओलीको एकात्मक सोच यी मुख्यमन्त्रीहरुमा पनि देखिनु र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि गरेको व्यवहारकै कारण यी दुई मुख्यमन्त्रीहरुको पद छिट्टै गुम्ने देखिएको छ ।
ओलीका आफ्ना बलिया खुट्टा मानिएका प्रदेश सरकारहरु एक एक गर्दै ढल्दै जाने संकेत देखिएको छ । यही कुरा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमा पनि लागू हुन सक्ने सम्भावना रहेको छ । पार्टी भित्रको असन्तुष्टिकै वावजुद प्रदेशको राजधानी तोकेपछि रुपन्देही ,पाल्पा सहित केही जिल्लाका नेकपाकै नेताहरु उनीप्रति आक्रोशित रहेका छन् । जसका कारण उनीवरुद्ध पनि कांग्रेस र मधेशवादी पार्टीहरुसंग मोर्चाबन्दी हुने गरि कुरा अगाडीबढी सकेको  छ ।

प्रतिक्रिया