आइतबार, जेठ २, २०७८

माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने

ज्योतिन्यूज २०७७ असोज १५ गते ७:३९

काठमाडौं । कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्राउने सम्झौता भएको हो ।

नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ । हाल रुसलगायत देशमा ४० हजार नागरिकमा भ्याक्सिनको तेस्रो चरण अर्थात् थर्ड ट्रायल भइरहेको छ । सो सफल भए आगामी माघसम्म नेपालमा भ्याक्सिन ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत किशोर अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘४० हजार नागरिकमा खोप परीक्षण सफल भए औषधि व्यवस्था विभागमा लाइसेन्सका लागि निवेदन दर्ता गर्छौं । यदि सबै प्रक्रिया पूरा हुँदै गए आगामी माघसम्म नेपालमा भ्याक्सिन आइपुग्छ ।’

भ्याक्सिन नेपाल ल्याउन सरकारले अनुमति दिनुपर्ने भए पनि हालसम्म कुनै पनि खोप ल्याउन आयातकर्ताले औषधि व्यवस्था विभागमा निवेदन नदिएको पाइएको छ । ‘स्पुतनिक–भी’ को तेस्रो चरणको परीक्षण आगामी जनवरीभित्र पूरा हुने अपेक्षा गरिएको उहाँले बताउनुभया । नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि औषधि व्यवस्था विभागमा निवेदन दिनुपर्छ ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक–५’ नेपाल ल्याउने सम्झौता भएको रसियन डाइरेक्ट फन्डको वेबसाइटमा उल्लेख छ । भ्याक्सिन सन्दर्भमा ट्रिनिटीले गत जेठदेखि पहल गर्दै आएको थियो ।

फन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध हुने जानकारी दिनुभयो । २ करोड ५० लाख भ्याक्सिनले नेपालको ९० प्रतिशत जनासंख्यालाई समेट्ने बताइएको छ ।

भ्याक्सिन नेपाल ल्याउन सरकारले अनुमति दिनुपर्ने भए पनि हालसम्म कुनै पनि खोप ल्याउन आयातकर्ताले औषधि व्यवस्था विभागमा निवेदन नदिएको पाइएको छ । विभागका सूचना अधिकारी सन्तोष केसीले अहिलेसम्म खोप ल्याउन कसैको पनि निवेदन नपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस बारेमा जानकारी आएको त छ । तर, कसैले पनि खोप आयात गर्न अनुमति लिनुभएको छैन ।’ हाल कोरोना भाइरसविरुद्ध १ सय ४० वटा खोप परीक्षणको चरणमा रहेका छन् । स्रोतका अनुसार रुसी भ्याक्सिनलाई डब्ल्यूएचओले स्वीकृत नगरेको र अनुसन्धानकै क्रममा रहेको छ ।

दोस्रो चरणको परीक्षण पूरा हुनासाथ गत साउन अन्तिम साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्ध रुसले पहिलो भ्याक्सिन बनाएको घोषणा गरेका थिए । आजको राजधानीले खबर लेखेको छ।

प्रतिक्रिया