सोमबार, फागुन २४, २०७७

इजरायलको श्रम बजार खुला

ज्योतिन्यूज २०७७ असोज १६ गते १०:२७

काठमाडौँ, असोज १६ गते । नेपालीको रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिने इजरायलको श्रम बजार खुला भएको छ । नेपाल र इजरायलबीच श्रम सम्झौता भएसँगै विशिष्ट सीप भएका नेपालीका लागि इजरायलको श्रम बजार खुला भएको हो ।

नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी आस्खेनाजीबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली श्रमिकको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा बुधबार हस्ताक्षर भयो । सहमति पत्रमा हस्ताक्षर भएसँगै केयरगिभर, कृषि, होटल र रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर आउने अपेक्षा गरिएको छ ।

दूतावासका अनुसार प्रत्येक क्षेत्रका लागि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया सुरु हुनेछ ।
यसअघि नै विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रूपमा इजरायलको नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर)मा नेपालबाट केयरगिभर लैजानेसम्बन्धी कार्यान्वयन प्रोटोकलमा छिट्टै सम्झौता हुने जनाइएको छ । नेपालका लागि इजरायलका राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो प्रोटोकलमा काठमाडौँमा हस्ताक्षर भएपछि केही महिनाभित्रै पहिलो चरणमा पाँच सय नेपाली इजरायल जान पाउने दूतावासले जनाएको छ ।

इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको तत्वावधानमा नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारी पत्रमा पनि बुधबार नै हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीव्रता पाउने विश्वास गरिएको छ । -गोरखापत्र

प्रतिक्रिया