शनिबार, फागुन १५, २०७७

काम कुरो एकातिर शिक्षामन्त्री कतातिर ?

ज्योतिन्यूज २०७७ असोज १६ गते १२:२५

डा.बाबुराम भट्टाराई,मोहन वैद्य र विप्लबलाई पार्टीबाट पन्छाउँदै साबिक नेकपा(माओबादी केन्द्र)कब्जा गरे पछि साविकको नेकपा (एमाले ) संग एकता गरेपछि नेपाल कम्युनिष्ट पार्टी नामाकरण भयो ।

दुई कम्युनिष्ट दलहरु एक भएसँगै गठन भएको दुईतिहाई सहितको बहुमतयुक्त सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पद सम्हालेका गिरिराजमणि पोखरेले पदमा आसिन भएको साढे दुई बर्ष पुरा भइसकेको छ ।

शुरुमा पदमा आउँदा ठूला ठूला गफ छाँट्ने र नागरिकको मन जिते जस्तो गर्न सक्ने नेताले त्यसपछि मन्त्रालय र यस मातहत केही उल्लेख्य काम गर्न सकेका छैनन् ।विश्व विद्यालय र अन्य निकायमा समेत पोखरेलको यस प्रकारकै हालत छ । नेकपामा केही नेता छन्, जसले अरुले दिएको सुझाव सल्लाह सुन्न चाहँदैनन् र सक्दैनन पनि ।

तर यी कुरामा पोखरेल फरक छन् । उनलाई सरोकारवाला पक्षका ब्यक्तिहरुको बोली सुन्न सक्ने क्षमता रहेको मानिन्छ तर क्षमता भने गफ सुन्ने भएपनि काम सो अनुरुपको हुन सकेका छैनन् । त्यसैले पनि उनलाई “यता पनि ठिक्क उता पनि ठिक्क” हुने मन्त्री भन्ने गर्छन ।झन्डै दुइतिहाईको सरकारले कति र कुन रुपमा शैक्षिक उपलब्धि हँसिल गरि नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख शिक्षा पद्दति निर्माणमा उनले मन्त्रालयको साख कसरी राख्छन,चासोको विषय बनेको छ।

कुनै विश्व विद्यालयको वारेमा प्रधानमंत्रीले कुलपतिको हैसियतमा सोधेका जिज्ञासामा सहकुलपति (शिक्षामन्त्री)ले- “हजुर,यो विषयमा म हजुरलाई छुट्टै कुरा (ब्रिफिङ)गर्छु”भनि उम्कने गरेको प्रधानमन्त्री निवास श्रोतले बताएको छ ।

दुई-दुई पटक एकै मन्त्रालयमा कदम राखेका मन्त्री पोखरेलले यस अघि मन्त्री हुँदा शिक्षा क्षेत्रमा छलाङ ल्याउने भनी ५ वर्षै शैक्षिक मार्गचित्र प्रस्तुत गरेका थिए । २०७१/ ७२ मा शिक्षामन्त्री रहेका डी.आर.(धनीराम) पौडेल हुँदा पनि स्वयम् गिरिराजमणि पोखेरलको योजनामा काम भएको भनी शिक्षा मन्त्रालयका कर्मचारी बताउँछन् ।

अहिले कोरोना महामारीको कारण सबैभन्दा त्राहिमाम भएको शिक्षा क्षेत्रलाई सहि दिशामा ल्याउन उनको नेतृत्व पूर्णतः असफल जस्तै बनेको भन्दै आलोचित भइरहेका छन् । त्यतिमात्र नभएर विद्यार्थीहरुको अन्यौलतालाई उनले चिर्न सकेका छैनन् । मानसिक रुपमा विचलनमा परेका विद्यार्थीहरुलाई मन्त्री पोखरेलले गर्ने बोल्ड निर्णयको खाँचो छ ।

सिसिएमसीको लाचार छायाँ बनेर एसईई परिक्षालाई एकाएक स्थगन गर्नु, सोही परिक्षाको विकल्प चाँडै दिन नसक्नु, कक्षा ११ र १२ का विद्यार्थीलाई पनि विद्यालयमै परिक्षा हुने भनी अन्यौलतामा राख्नुले उनी विवादमा छन् ।

कक्षा १० को नतिजामा फरक किसिमको नतिजा आँउदा पनि उनकैकमजोरी देखिन्छ। त्यतिमात्र नभएर वैकल्पिक शिक्षाको विषयमा उनले देखाएको ढुलमुले निर्णयले पनि शिक्षा क्षेत्र अन्यौलमा परेको छ । त्यसैगरी आधा भन्दा बढी विद्यार्थी वैकल्पिक कक्षा पनि लिन सकेका छैनन् । यसको यकिन विवरण जम्मा गर्ने विषयमा उनले केही सोचेका छैनन् ।

तर पदमा मात्र बसेर तलबभत्ता खानु बाहेक विद्यार्थीको समस्या बुझ्नमा उनले ध्यान दिन सकेका छैनन् । त्यसैमाथि कोरोना महामारीले उनलाई काम गर्न मेसो नमिलेको भन्ने गज्जवको वहाना भने मिलेको छ ।

दोस्रो पटक मन्त्री बनेको साढे दुई वर्ष पुरा हुँदा उनी अनेक विवादमा मुछिएका छन् । केही कुरा सकारात्मक देखिए पनि धेरै काम उनले अधुरो छाडेका छन् । जसले गर्दा पनि उनले काम फत्ते नगरी भाग खोज्ने प्रवृति अपनाएको प्रधानमन्त्री निवास श्रोतले बतायो ।

अधुरो चिकित्सा शिक्षा ऐन, विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा गणितलाई ओझेल पार्न खोज्नु, विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्दा सर्च कमिटिको क्षमता मै प्रश्न उठ्ने गरी लामो समय रिक्त राख्नु लगायतका काण्डले उनलाई छोडेन । महिनौ देखि विभिन्न विधेयकहरु थन्किएका छन् । त्यसतर्फ उनको ध्यान गएको देखिदैन ।

त्यतिमात्र नभएर नेपालको नक्सा भएको पुस्तक वितरण गर्ने विषयमा उनले दिएको अभिब्यक्तिले पनि विवाद आयो । शुरुमा उक्त पुस्तकबाटै पढाउन भनेका उनले पछि पुस्तक वितरण नगर्न भनेपछि उनको ब्यापक विरोध भयो ।

समयमा निर्णय लिन नसक्नु पोखरेलको ठूलो कमजोरी हो । बोल्न जति पनि सक्ने, अरुले भनेको कुरा सुन्न पनि सक्ने तर काम गर्न नसक्ने बानीले उनलाई सधै विवादमा ल्याइरहेको छ र उनको कार्यशैलीमाथि पनि प्रश्न सर्बत्र उठी रहेको छ ।

उनको फेरिरहने बोली र यता पनि ठिक्क उता पनि ठिक्क पार्ने प्रवृति हावि हुँदासम्म शिक्षा क्षेत्रमा उनले भाषण गरे जस्तो छलाङ आउने छाँटकाँट देखिदैन ।

उदाहरणको लागि कहिले स्कुल खोल्न तयार रहनुस् भन्ने कहिले खोले कारवाही गर्छु भनी दिने उनका अभिव्यक्तिलाई हेर्दा हुन्छ । यिनै कुराहरुलाई जोडेर कतिले टिप्पणी पनि गर्ने गर्दछन – कामकुरो एकातिर शिक्षामन्त्री कतातिर ?

प्रतिक्रिया