बुधबार, साउन २०, २०७८

सम्पूर्ण जीवनभरि बल्ने एकै बत्ती पुस्तकालय

ज्योतिन्यूज २०७७ असोज १७ गते ७:२८

डा. गोविन्दराज भट्टराई

पुस्तकालय सम्पूर्ण ज्ञानको भण्डार हो । यसबाट निसृत उज्यालोलाई व्यक्ति र व्यक्तिसमूहले देख्न पाउँछन् । त्यसले समाजै उठ्न  थाल्छ । म आफ्नै अनुभव अलिकति  बताउन चाहन्छु ।

मलाई साहित्यको क्षेत्रमा प्रवेश गर्न उत्प्रेरित गर्ने तत्व नै बाल्यकालमा भेटेको एक पुस्तकालय हो । त्यो पुस्तकालय मैले पढ्ने श्री आदर्श विद्या मन्दिर हाइस्कूल घैलाडुबा, झापामा रहेको थियो । बाटोघाटो बेगरको भित्री गाउँमा  राजवंशी सतार र अन्य आदिवासी तथा पहाडेहरु मिसिएको गाउँमा बनेको हाम्रो विद्यालय तिनतले मुण्डाघर थियो । २०१९  सालमा बनेको सो भवन पहाडबाट झर्ने यो केटाले पहिलोपल्ट २०२३ साल माघमा देख्यो ।

म त्यहाँ कक्षा आठमा भर्ना भएर पढ्न थालेँ विद्यालयमा अत्यन्तै योग्य बीए. बीएसी., शास्त्री आदि गरेका गुरुजन थिए । तीमध्ये एक विद्वान् हुनुहुन्थ्यो श्री दाताराम शर्मा खनाल । प्र.अ. दाताराम सरकै प्रेरणाले त्यो पुस्तकालयको स्थापना भएको थियो । विद्यालय संस्थापक समाजसेवी श्री देवीप्रसाद उप्रेती त्यतिकै उदारमना दानवीर हुनुहुन्थ्यो  ।

विद्यालयको बीच तलामा एउटा ठूलो कोठाभरि अग्ला अग्ला सीसाका ढोका भएका दराजहरु थिए । तिनमा टम्म पुस्तकै पुस्तक भरिएका थिए । मेरो कल्पनामा पनि  नभएका यति धेरै पुस्तक देखेर म एकपल्ट आत्तिएँ । तिनलाई छुनपाए हुन्थ्यो भन्ने लागेको थियो । नभन्दै  एकदिन हाम्रो कक्षामा आएर गुरुले बताउनु भयो– यसरी तिमीहरुले  महीनाको चारआना तिरेर पुस्तकालयको सदस्य हुन पाउँछौ । पुस्तक घरलान पाउँछौ । लानू जतनले पढ्नू र १५ दिनमा फर्काउनू । कक्षा आठकी भोल्युन्टिअर मैना खवाससित चाबी हुन्छ । चार बजेपछि यो एक घण्टालाई खुल्ने छ ।

भोलिपल्टै मैले सदस्यता लिएँ र पुस्तक हेर्न थालेँ । मलाई बाल कथाकी पात्र ऐलिसले आश्चर्यभूमि (वण्डरल्याण्ड) मा देखेको विचित्रताभन्दा बढ्ता आश्चर्य भयो । खुशीले मनमनै नाच्न थालेँ । ती दिनमा  नेपाली साहित्यको भण्डार आजको  आधी पनि  थिएन होला । तापनि जुन अमूल्य पुस्तक थिए ती ज्यादा  दार्जीलिङका  स्रष्टाका थिए । तिनै दिनमा  पारशमणि प्रधान, धरणीधर शर्मा कोइरालाका सरल कृति पढेँ,  सूर्यविक्रम ज्ञवालीले अनुवाद गरेको पारे घर्तीको पुरुषार्थ पढेँ– यी ता  यथार्थपरक कृति थिए । तर  रुपनारायणसिंहको  भ्रमर, शिवकुमार राईका  कथा, इन्द्रबहादुर राई तथा अनेक स्थापित स्रष्टाका कृति खासगरी आख्यान पढ्दा मलाई आश्चर्य लाग्न थाल्यो । यी भएका घटेका यथार्थ कुरा हुन् कि कल्पनाका भन्ने छुट्याउन नसक्ने अवस्थामा, आश्चर्यमा थिएँ । जगत छेत्री, तुलसी अपतन, भइचन्द्र प्रधान, अगमसिंह गिरी, लीलाबहादुर क्षेत्री, हरिप्रसाद गोर्खा राईहरुका कृति पढेँ । अनि नेपाल खण्डका पनि महाकविका, समका, माधव घिमिरे जस्तै अनेक स्थापितका  पुस्तक थिए । म छक्क पर्थें  कसरी यत्रो आश्कचर्यको कुरा सम्भव हुन्छ होला ।

पढ्दा पढदै मेरो विद्यालयको पठनपाठन पछि पर्ने हो कि जस्तो पनि भयो तर । म एक्लै बस्थेँ । ती अभावका कठोर दिनमा घरदेखि एकदिनको बाटो टाढा, मेरा भौतिक साथी कम्ती थिए त्यसैले तिनै पुस्तक  मेरा अभिन्न मित्र थिए । भनेजति  मट्टितेल किन्ने पैसा पुगेको भए रातभरि साहित्य पढ्ने भएर एसएलसी परीक्षा बिगार्थें होला । मलाई नियन्त्रण गर्ने कोही थिएन धन्य आफैँ नियन्त्रित भएँ हुँला र २०२६ सालको एसएलसीमा दोस्रो श्रेणी प्राप्त गरेँ ।

त्यसरी आदर्श विद्यामन्दिरमा मैले तीन वर्ष पढेका पुस्तक नै मेरो साहित्यिक जीवनको जग बनेर रहेका छन् । थाहा थिएन म साहित्यतिर लाग्छु भन्ने कुरा तर पुस्तकप्रेम बढेपछि त्यसले बिस्तारै साहित्यमा लागेर राख्ने रहेछ ।

एसएलसी दिएर म घरैमा (हालको दमक भाङ्गबारीमा) बस्तै थिए । पहाडबाट मेरा मिडिल स्कूलका गुरु (साहित्यप्रेमी) गंगा खरेल आइपुग्यो ।  उहाँले मलाई तानाशर्माको पश्चिमका केही महान् साहित्यकार र बेलायततिर बरालिँदा अनि कृष्णचन्द्रसिंह प्रधान सम्पादित साझा समालोचना किनेर पढ्नू भन्नुभयो । विराटनगर पुगेँ, किने र नबुझे पनि पढ्न थालेँ र सकेँ । तर साहित्य पढ्दा सबै कुरा बुझ्नै पर्ने रहेनछ बुझेर पढौँला होइन रहेछ,  पढेपछि बिस्तारै बुझ्न थालिने रहेछ । मलाई त्यस्तै भो । त्यसको पाँच वर्षपछि  मेरो प्रथम  उपन्यास मुगलान तयार भयो । छापियो अनि ता म कहिल्यै पुस्तकबाट  टाढा हुन सकिन, पुस्तकालय नै मेरो घर बन्दै गयो र साहित्य नै रातदिनको प्रार्थनामा परिणत भयो ।

यो दृष्टान्तले मलाई नित्य सभ्झाउँछ– विद्यालयमा पुस्तकालयको कत्रो महत्व रहेछ, पुस्तकालयमा पढ्न नानीहरुलाई प्रेरित गर्नु कत्रो कुरा रहेछ । एकजना अंग्रेजी विद्वान्ले भनेछन्– सयवटा विद्यालय खोल्नुभन्दा एउटा पुस्तकालय खोल्नु ठूलो कुरा हो । तर हेर्दा हाम्रो देशमा कतिपय यस्ता विद्यालय छन् जहाँ कुनै पुस्तकालयको प्रावधान छैन । विद्यार्थीलाई पाठ्यक्रममा सीमित राखिन्छ । उनीहरुले  एउटा भिन्न विचित्रको ज्ञानको  र आनन्दको  संसार देख्नै नपाई जीवन बिताउँछन् ।

प्रत्येक विद्यालयमा  पूर्वप्राथमिक तहदेखि नै पुस्तकालय आवश्यक हुन्छ । पुस्तक पढ्ने बानी बसाएर प्रत्येक नानी साहित्यकार बनून भन्ने कामनाले होइन परन्तु जीवनका अनेक रहस्यलाई अनुभूतिलाई, अनेक  पाटालाई साहित्यले कलामा भिजाएर प्रस्तुत गर्दछ । त्यो कुरा उनीहरुले  सानैदेखि थाहा पाउन् भनेर हो । ज्ञानको आनन्दको सूचनाको यति शक्तिशाली स्रोत साहित्यभन्दा अर्थोक के हुन्छ ? जीवन सरल सुगम र आनन्दपूर्ण बनाउने तत्वमा साहित्यभन्दा अर्थोक केही छैन । पुस्तकालय त्यसैको प्रतीक हो । –पुस्तकालय आवाजबाट

प्रतिक्रिया