शनिबार, असोज ९, २०७८

दशैँ–तिहारअघि नै सार्वजनिक यातायात थप सहज हुने

ज्योतिन्यूज २०७७ असोज १७ गते ९:१८

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले दशैँ–तिहारअघि नै सार्वजनिक यातायात थप सहज हुने बताउनुभएको छ । उहाँले स्वास्थ्य मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सामान्य अवस्थामै सञ्चालन हुने स्पष्ट पार्नुभयो ।

सङ्घीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा मन्त्री नेम्बाङले विश्वव्यापी कोरोना महामारी र भारी वर्षाका कारण विभिन्न राजमार्ग तथा पुलमा क्षति पुग्दा सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भए पनि दशँै–तिहार, छठअगावै सहज भइसक्ने बताउनुभएको मन्त्री नेम्बाङको सचिवालयले जनाएको छ ।

उहाँले प्राकृतिक विपद्लाई रोक्न नसकिए पनि त्यसको व्यवस्थापनमा मन्त्रालय तदारुकताका साथ लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, भारी वर्षाका कारण बाटोमा क्षति पुगेको छ । राजमार्गहरू निर्बाध रूपमा सञ्चालन गर्नका लागि मन्त्रालयले २४ घण्टा काम गर्ने योजना बनाएको छ।

मन्त्री नेम्बाङले बढ्दो कोरोना सङ्क्रमणबीच अस्तव्यस्त अर्थतन्त्रलाई चलायमान गर्न स्वास्थ्य मापदण्ड पालना गर्दै लामो, मध्यम र छोटो दूरीका सवारी साधन खुला गरिएको प्रस्ट पार्नुभयो ।

उहाँले हवाई उडान पूर्ण सिट क्षमतामा सञ्चालन भएको र सरोकारवालाबाट गुनासो समेत आएकाले सार्वजनिक यातायात सञ्चालन मापदण्ड संशोधनका लागि कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)मा प्रस्ताव पेस गरिएको जानकारी दिनुभयो । – गाेरखापत्र दैनिक

प्रतिक्रिया